आज 'श्रीपञ्चमी', सरस्वतीको स्तुती मन्त्र सहित
४ फागुन, काठमाडौ । आज बसन्तपञ्चमी अर्थात् 'श्रीपञ्चमी' पर्व, मुलुकभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदैछ ।
गान्धर्व पुराणका अनुसार आजको दिनमा सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सहजै ज्ञान प्राप्त गर्न सकिने साथै सरस्वतीको पूजाआजाले सिद्धी र सद्बुद्धी प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भारती, शारदा, हंसबाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले समेत पुकारिन्छ ।
आजको दिनदेखी सूर्य उत्तरतिर लागेर दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण आजको दिनलाई बसन्त पञ्चमी समेत भन्ने गरिन्छ । आजको दिनमा विबाह ब्रतबन्ध, गुपा, वेलविबाह जस्ता धार्मिक तथा सामाजिक कार्यका लागी साइत हेर्न नपर्ने विश्वास गरिन्छ । आजको दिनमा बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्ने गरिन्छ ।
आजका दिन विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा तथा तान्त्रिकहरू तन्त्रसिद्धिका लागी तारादेवीका रूपमा सरस्वतीको आराधना गर्छन् ।
काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित मञ्जुश्री, नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।
यस्तै, सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
सरस्वतीको स्तुती
या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |
या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना ||
या ब्रह्माच्युतशंकरप्रभ्रृतिभिर्देवै: सदा वन्दिता |
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ||
शुक्लां ब्रह्मविचार सार परमां आद्यां जगद्व्यापिनीं
वीणा पुस्तक धारिणीं अभयदां जाड्यान्धाकारापाहां|
हस्ते स्फाटिक मालीकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धि प्रदां शारदां||


0 comments
तपाईंको प्रतिकृया