चुनौतिको चाङविच दलहरु सहमतीमा हस्ताक्षर गर्दै
फागुन ८ काठमाण्डौ । एकिकृत नेकपा माओवादीले गरेको प्रस्तावअनुसार प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व सुम्पनेगरि आज दलहरुले सहमतीमा हस्ताक्षर गर्ने भएका छन् । हिजो भएको छलफलमा प्रधानन्याधिशको नेतृत्वमा अन्तरिम चुनाबी मन्त्रिपरिषद गठन गर्न सहमत दलहरुले स्थिति सामान्य रहे आजै सहमतीपत्रमा हस्ताक्षर गर्ने छन् ।
सहमतीपत्रमा हस्ताक्षर गर्ने विषयमा छलफल गर्न एकिकृत माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा विहान शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा साँझ ५ बजे, कार्यदलसंग बसेर नागरिकतालगाएतका मिल्न बाँकी विषयको टुंगो लगाउने सहमती भएको मधेशी मोर्चाका नेता, महन्थ ठाकुरले जानकारी दिनुभयो ।
आगामी जेठ २२ मा संविधानसभा चुनाब गर्ने गरि सहमत भएका दलहरुले सहमतीमा हस्ताक्षर गर्नुअघि आजै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, सेना समायोजनमा दर्जा मिलान र नागरिकताको विषयमा कुरा मिलाउनु पर्ने छ । यसका लागि मुख्य दलका शीर्ष नेताहरु साँझ पाँच बजे बैठक बसेर सबै विषय टुङ्गाउने प्रयास गर्ने छन् । सहमतिको मस्यौदा तयार पार्ने जिम्मा पाएको कार्यदलको प्रस्तावका आधारमा मुख्य तीन दल र मधेशी मोर्चा आवद्ध दलले सहमतिका टुंगो लगाउने छन् ।
आजै दलहरुबिच सहमतीपत्रमा हस्ताक्षर भए प्रधानमन्त्री भट्टराईले राष्ट्रका नाममा सम्बोधन गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया