तीन मिनेटमा अर्बौंको गहना गायब
(एजेन्सी)लुटेराले बेल्जियमको राजधानी ब्रसेल्सस्थित ब्रसेल्स एयरपोर्टबाट अर्बाैं रुपियाँको हीराको गहना लुटेका छन्, त्यो पनि जम्मा तीन मिनेटमा । लुटेराहरू हवाई अड्डाको सुरक्षाघेरा तोडेर गहना राखिएको ब्रिफकेस उम्काउन सफल भएका हुन् ।
ब्रसेल्स एयरपोर्टका प्रवक्ता वेन डेर क्रयस्सेका अनुसार लुटेराहरूले आफ्नो योजना सफल पार्न जम्मा तीन मिनेटको समय मात्रै लगाएको भेटियो ।
‘उनीहरू जुन बाटोबाट आएका थिए, त्यही बाटोबाटै भागेको पाइएको छ’, उनले भने । सोमबार साँझ स्विट्जरल्यान्ड लैजाने प्रयोजनले ती हीराका गहना सुरक्षा भ्यानबाट हवाईजहाजमा राख्न लागिएको थियो । त्यही बेला यो घटना भएको थियो ।
प्रहरीले घटनास्थलनजिकबाट जलेको एउटा गाडी बरामद गरेको छ । त्यसैमा आठ लुटेरा आएको हुन सक्ने आशंका गरेको प्रहरीले उनीहरूको खोजी जारी राखेको छ । एंटपर्व वल्ड डायमन्ड सेन्टरका ती गहनाको मूल्य ५० अर्ब रुपियाँभन्दा बढी रहेको जनाइएको छ । विमानस्थल प्रवक्तालाई उद्धृत गर्दै उक्त लुटपाट ठूलो तथा डरलाग्लो भएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् ।
बेल्जियमको ब्रसेल्स हीराको गरगहना सबैभन्दा बढी कारोबार हुने सहरको रूपमा चिनिन्छ । ब्रसेल्स एयरपोर्टका प्रवक्ता क्रयस्सेका अनुसार दैनिक अर्बौंको हीराको गरगहना उक्त एयरपोर्टबाट बाहिरिने गरेको छ । लुटेराहरूले सोही जानकारीका आधारमा लामो समयदेखि मौका छोप्दै आएको हुन सक्ने उनले बताए ।
0 comments
तपाईंको प्रतिकृया