फान्सका राष्ट्रपतिलाई गुल्मीको कफी
६ फागुन,गुल्मी । आफ्नै गाउँबारीका कान्ला र पाखाका उत्पादनबारे हामीलाई त्यति वास्ता नहुन सक्छ । गुल्मीका कान्लामा उत्पादित कफीले फान्सका राष्ट्रपति फ्राँस्वा ओलन्डलाई भने मोहित बनाएको छ । उनी कफीका सोखिन पनि हुन् । उनले धेरै मुलुकको कफी चाखिसकेका छन् ।
गुल्मीको अर्गानिक कफीको स्वाद लिएपछि राष्ट्रपतिले ओलन्डले लेखेका छन् ‘नेपालको कफी उत्कृष्ट रहेछ । यस्तो प्रयासलाई धन्यवाद दिनुपर्छ ।’ गत महिना गुल्मीको अर्गानिक कफीको स्वाद चाखेका उनले पेरिसस्थित नेपाली दूतावासलाई पत्र लेखेर धन्यवाद दिएका हुन् । भारत भ्रमणमा आउनुअघि राष्ट्रपति ओलन्डले यस्तो धन्यवादपत्र पठाएको जानकारी फ्रान्सका लागि नेपाली राजदूत मोहन श्रेष्ठले दिएको खबर अन्नपूर्ण पोष्टदैनिकले छापेको छ ।
फान्सस्थित नेपाली दूतावासलाई गुल्मी जिल्लामा उत्पादित अर्गानिक कफी प्राप्त भएपछि राजदूत श्रेष्ठले राष्ट्रपतिलाई उपहारस्वरुप पठाएका थिए र राष्ट्रपतिका तर्फबाट फ्रान्सेली मन्त्रिपरिषद्का अधिकारी पायर वेन्सनार्यले दूतावासलाई पत्र पठाएर प्रशंसा गरेका हुन् ।

0 comments
तपाईंको प्रतिकृया