Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
महाकुम्भमा प्रेम बहस

काठमाडौं, फाल्गुन ४ - सारा संसार बिहीबार प्रेम दिवस (भ्यालेन्टाइन डे) मनाउन व्यस्त रह्यो । सहरदेखि गाउँसम्म यसको प्रभाव देखियो । यस्तोमा भारतको कुम्भमेलामा भेला भएका साधुसन्तले प्रेम बहसबाट आफूलाई कसरी टाढा राख्न सक्थे ? आखिर संस्कृति, परम्परा र धर्मको आधार पनि प्रेम नै हो । तर, आधुनिक युवा जोडीहरूभन्दा एकदमै पृथक उनीहरूले आडम्बरपूर्ण प्रदर्शन र समयमा बाँधिएको प्रेमको परिभाषालाई ठाडै अस्वीकारे । प्रेम गर्नलाई भ्यालेन्टाइन डेजस्तो दिनलाई पर्खिनुपर्ने आवश्यकता नभएको सन्तहरूले बताए । उनीहरूका अनुसार देखावटी प्रेम र अभिनयमा कुनै अन्तर हुँदैन । यो त अन्तरमनमा एकअर्काप्रति उत्पन्न हुने स्नेह र आदरको भाव हो । साधुसन्तको छलफलमा प्रेमलाई सम्हालेर राख्नु कुनै तपस्याभन्दा कम नहुने बताइयो किनकि वास्तविक प्रेम मर्यादित र संयमित हुन्छ । उनीहरूको अनुसार प्रेम मनुष्यको स्वाभाविक प्रवृत्ति हो, प्रेमले शरीरलाई नभएर आत्मालाई छुन सक्नुपर्छ । प्रेमबिना मानव जीवन सम्भव छैन । हरेक मान्छेको जीवनमा उच्च साधना हो प्रेम । उनीहरूका अनुसार प्रेम गर्नेले दिन वा समय गनेर बस्दैनन् । धर्म, समाज र संस्कृतिसँग हरक्षण प्रेम जोडिएको हुन्छ । अटुट र निरन्तर प्रेमले ईश्वर, प्रकृति र मानवलाई माखेसाङ्लोझैं जोडेर राखेको हुन्छ । कर्म र विचारले आत्माको उचाइलाई छुनु नै प्रेम भएको सन्तहरूको ठहर छ । प्रेमको शरीरसँग नाता हुँदैन । प्रेम र यौनिकताबीचको भेद नगर्दा युवायुवतीहरू गलत साथीको संगतमा परेर जीवनभरि मानसिक तनावमा बिताउन पुग्छन् । कुनै स्त्री वा पुरुषले आफूलाई बजारमा बेच्नलाई राखेको वस्तुझैं प्रदर्शन गर्दै एकअर्कालाईर् सुम्पिनुलाई उनीहरूले प्रेम नभएर वासना वा प्रेम भ्रम मान्छन् । यस्ता प्रदर्शनले महिलाप्रतिको सम्मानमा कमी आउनुका साथै समाजमा यौन हिंसालाई बढावा दिन्छ । हरेक क्षण प्रेम चाहनेले मात्र यसको अर्थ र मर्म बुझ्छन् । यो यस्तो शान्ति हो, जुन कसैलाई सम्झदा, कुरा गर्दा, हेर्दा र भेट्दा मात्र पनि प्राप्त हुन्छ । हरेक पटक नयाँ रूपमा देखिनु प्रेमको विशेषता हो । यो बजारमा बेच्नलाई शो केसमा राखिएको वस्तु नभएर साँचो आनन्द प्राप्तिको नाम हो प्रेम । भावनाप्रधान प्रेमलाई कुनै परिभाषा, दर्शन र सीमामा बाँध्नु नहुने उनीहरूको सुझाव छ । प्रेमले मन र भावनाको दूरीलाई हटाउँछ । बिनाघमण्ड र भेदभाव गरिएको माया एवं स्नेह नै साँचो प्रेम हो । प्रेममा 'म र हामी' भन्दा एकअर्काको ख्याल गरिन्छ । बलियो समाज र सशक्त मुलुकको ऐना हो प्रेम, जसका लागि सुन्दर शरीर नभएर निश्छल र उदार मन चाहिन्छ ।

0 comments

तपाईंको प्रतिकृया