सन् २०१२ मा अफगानिस्तानमा दुईहजार ७ सय ५४ को मृत्यु
फागुन ८ एजेन्सी । अफगानिस्तानमा सन् २०१२ मा दुई हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय नियोगद्वारा आज प्रकाशित एक प्रतिवेदनमा द्वन्द्वसँगसम्बन्धी बिभिन्न हिंसामा दुई हजार ७ सय ५४ जना अफगान नागरिकको मृत्यु भएको जनाएको छ ।
हिंसामा चार हजार ८ सय ५ जना व्यक्ति घाइते भएको प्रतिवेदनमार्फत नियोगले प्रष्ट पारेको छ । प्रतिवेदनअनुसार हिंसामा ८१ प्रतिशत सरकार विरोधी सशस्त्र लडाकूहरूको हात रहेको जनाइएको छ ।
युएनए एम ए द्वारा प्रकाशित प्रतिवेदनमा सन्् २०११ को तुलनामा नागरिक हताहतीमा १२ प्रतिशतले कमी आएको तर घाइते सङ्ख्या भने बढेको अन्तर्राष्ट्रिय समाचार माध्यममा जनाइएको छ ।
ट्युनिसिया–राजनीतिक संकट गहिरिंदो
ट्युनिसियामा राजनीतिक संकट गहिरिदै जाँदा विज्ञहरु सम्मिलित नयाँ सरकार गठन गर्ने प्रयास पनि असफल भएको छ ।
वर्तमान प्रधानमन्त्री हमादी जेबालीको योजनालाई उहाँकै पार्टी इन्हादाले नै अस्वीकार गरेपछि त्यहाँ नयाँ सरकार गठन प्रक्रिया अन्यौलमा फसेको छ । तर प्रधानमन्त्री जेबालीले भने सरकार गठनको अर्को विकल्प बाँकी रहेको बताएपनि विकल्पबारे केही खुलाउनु भएन । अघिल्लो हप्ता मात्र सरकारका कट्टर आलोचक विपक्षी नेता बेलाइदको हत्यापछि राजनीतिक संकट थप चुलिएको थियो ।
घटनापछि विपक्षीले वर्तमान गठबन्धन सरकारको राजिनामा माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
इन्डोनेशियामा भारी बर्षपछि आएको पहिरोमा परेर १७ जनाको मृत्यु
इन्डोनेशियामा भारी बर्षपछि आएको पहिरोमा परेर १७ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा बालबालीकाको संख्या अध्यधिक छ ।
उत्तरी ईन्डोनेशियाका बिभिन्न शहरमा गएको पहिरोमा थुप्रै घरहरु पुरिएका छन् । पहिरोमा पुरिएकाहरुको उद्धारका लागी सयौंको संख्यामा उद्धारकर्मीहरु खटिएका छन् । पहिरोमा थुप्रै सवारीसाधन पुरिएकाले यातायात आवागमनमा कठिनाई भएको छ ।
गत सातादेखिको अविरल बर्षापछि आएको पहिरोकै कारण बिजुली आपर्ती समेत ठप्प बनेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

0 comments
तपाईंको प्रतिकृया