मालिकको फर्मुलाले सबै मन्त्रमुग्ध भएः बैद्य
४ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बन्न नदिन मोहन बैद्य किरण नेतृत्वको नेकपा-माओवादीसहितका चारदल आन्दोलनमा उत्रिने भएका छन् ।
शनिबार बेलुका राजधानीको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्नुका साथै आइतबार देशव्यापी विरोधसभा गर्ने माओवादीलगायतका ४ दलले घोषणा गरेका छन् । माओवादी पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वैद्य नेतृत्वको माओवादी, कमल चौधरी नेतृत्वको नेकपा एकीकृत, मात्रिका यादव र मणि थापा समूहले रेग्मीको नेतृत्वमा सरकार बनाउने प्रस्तावलाई विदेशीको इशारामा अघि सारिएको भन्दै संघर्षमा उत्रने बताएका हुन् ।
चारदलको संयुक्त वक्तव्यमा भनिएको छ-’यसप्रकारको राष्ट्रहित तथा संवैधानिक मूल्य मान्यता विपरीत मुलुकलाई निर्दलीयता र निरंकुशताको दिशातर्फ लैजान खोजिरहेको चार पक्षको कदम अविलम्ब रोकियोस् ।’
प्रचण्डको फर्मुला त मालिकको रहेछः वैद्य
पत्रकार सम्मेलनमा नेकपा-माओवादी अध्यक्ष वैद्यले विदेशी शक्तिको इशारामा दलहरु निर्दलीय व्यवस्थामा जान लागेको आरोप लगाउनुभयो । प्रचण्ड बाबुरामले महाधिवेशनबाट फर्मुला ल्याउँछु भन्थे’ उहाँले भन्नुभयो-’उनीहरुको फर्मुला त उतापटि्टको पो रहेछ, माओवादीको फर्मुला के मान्लान् र भनेको त, मालिकले सबैलाई मन्त्रमुग्ध पारिसकेका रहेका छन् ।’
‘बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु भनेको निरंकुशततिर जानु हो, त्यो पनि फासीवादतिर’ विदेशीको इसारामा दलहरु निर्दलीय व्यवस्थामा जान लागेको भन्दै उहाँले भन्नुभयो-’ठूला भनाउँदा असफल भइसकेका दलहरुले अब हामी निर्दलीय व्यवस्थामा जान्छौं भनेर भन्न सक्नुपर्छ ।’
आफूहरुको आन्दोलन खबरदारीका लागि मात्र भएको भन्दै वैद्यले दलहरुको कदम हेरेर आगामी कार्यक्रम तय गरिने बताउनुभयो ।


0 comments
तपाईंको प्रतिकृया