शितल निवासलाई जवाफ पठाउने तयारी
चैत १०, काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुमा नियुक्तिका लागि यसअघि सिफारिस नामावलीलाई नै पुनः राष्ट्रपति समक्ष पठाउने तयारी गरेको छ । ति नामावली संविधान सम्मत् भएको निष्कर्ष सहित परिषदले थप स्पष्ट पार्दै शितल निवास पठाउने तयारी गरेको हो ।
यसअघि परिषदले निर्बाचन आयोगमा नियुक्तिका लागि शितल निवास पठाएको नामावलीमा संवैधानिक प्रष्टता माग्दै राष्ट्रपतिले फर्काइदिनु भएको थियो । त्यसपछि अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसहित मुख्य चार राजनीतिक शक्तिको बैठकले नामावली संविधानसँग नबाझिने निष्कर्ष निकालेको थियो ।
राष्ट्रपतिको जिज्ञासालाई थप प्रष्ट पार्दै यसअघिकै नामावलीलाई पुनः शितलनिवास पठाउने तयारी भैरहेको स्रोतले जनाएको छ । सरकारका प्रवक्ता तथा संवैधानिक परिषदका सदस्य माधव पौडेलले आन्तरिक छलफल गरि जवाफ पठाउने तयारी भैरहेको जानकारी दिनुभयो ।
उच्चस्तरीय राजनीतिक समितिको सिफारिसमा संवैधानिक परिषदले विहीबार दुई नयाँ सहित पाँच आयुक्तहरुको नाम निर्बाचन आयोगमा नियुक्तिकालागि सिफारिस गरेको थियो । जसमा ६ बर्ष कार्यकाल पूरा गरेर अवकाश पाएका निलकण्ठ उप्रेतीलाई प्रमुख आयुक्त, दोलखबहादुर गुरुङ्ग र अयोधी प्रसाद यादवलाई आयुक्तमा पुनर्नियुक्तिका लागि सिफारिस गरिएको छ । सिफारिस गरिएकामध्ये रामभक्त पीवी ठाकुर र इला शर्मा नयाँ हुन् ।
0 comments
तपाईंको प्रतिकृया