एमाओवादीले बाँदरमुढे पीडितलाई पार्टी कोषबाटै राहत दिने
फागुन २२, काठमाडौं । चितवनको बाँदरमुढे घटनाका पीडितलाई एकीकृत नेकपा माओवादी आफैले ६० लाख रुपैयाँ राहत दिने भएको छ । सरकारले रकम निकासा गर्न ढिलाइ गरेपछि एकीकृत माओवादी आफैले राहत रकम दिने भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निबास लाजिम्पाटमा आज विहान बसेको पार्टी कार्यालयको बैठकले हेटौडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट बँचेको रकम बाँदरमुढे घटनाका पीडितलाई दिने निर्णय गरेको हो । राहत रकम चितवन पठाउने जिम्मा कोषाध्यक्ष अमिक शेरचनलाई दिइएको छ । सो राहत रकम पीडितहरु आफैले आफूखुशी खर्च गर्न पाउने छन् ।
यसअघि माडी महोत्सव उदघाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले ६० लाख रुपैयाँ राहत प्याकेज सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।
पीडितहरुले हालसम्म सरकारबाट मात्र राहत पाएको तर एकीकृत माओवादीबाट राहत नपाएको गुनासो गर्दै आएका थिए । २०६२ जेठ २३ गते माडीको बाँदरमुढेमा तत्कालीन नेकपा माओवादीको विद्युतीय धराप विष्फोट हुँदा सार्बजनिक बसमा सवार ३५ सर्बसाधारण सहित ३८ जनाको ज्यान गएको थियो ।
0 comments
तपाईंको प्रतिकृया