Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादी केन्द्रीय कमिटी २ सय ३६ सदस्यीय, असारमै निर्वाचन हुनुपर्नेमा जोड


काठमाडौं, चैत १८–एनेकपा माओवादीले असारमै निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । एमाओवादीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले असारमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचनको लागि दवाव दिन देशका विभिन्न स्थानमा चैत २४ देखि बैशाख २२ गतेसम्म आमसभा गर्ने निर्णय गरेको छ । धादिङको धार्केमा ताम्सालिङ ब्यूरोको आमसभा चैत २४ गते हुनेछ भने २५ गते सोही स्थानमा तामसालिङ क्षेत्रीय प्रशिक्षण संचालन हुनेछ । यसैगरी चैत २७ गते बाग्लुङमा पश्चिमाञ्चल व्यूरोको आमसभा हुनेछ भने २७ गते प्रशिक्षणको पनि आयोजना हुनेछ । यस्तै, बैशाख ९ गते बर्दियामा सुदूरपश्चिम ब्यूरोका आमसभा आयोजना गरिने माओवादीले जनाएको छ भने १० गते प्रशिक्षण कार्यक्रम पनि हुनेछ । यस्तै बैशाख १८ र १९ गते क्रमशः पूर्वाञ्चल ब्यूरोको आमसभा र प्रशिक्षण कार्यक्रम हुनेछ भने २१ गते सर्लाहीमा मधेसव्यूरोका आमसभा हुनेछ भने २२ गते प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । महाभिवेशन आयोजक समिति र केन्द्रीय समितिको संयुक्त सो बैठकले केन्द्रीय समिति २ सय ३६ सदस्यीय बनाउने निर्णय गरेको छ । यसअघि हेटौडा महाधिवेशनको निर्णय विपरीत माओवादीले केन्द्रीय समिति ३ सय ९९ सदस्यीय बनाउने प्रस्ताव गरेको थियो । माओवादीको सो प्रस्तावको व्यापक विरोध भएपछि अन्तिममा फिर्ता भएको थियो । यसैगरी महाधिवेशनबाट पारित उत्पादन ब्रिगेडसम्बन्धी निर्णयलाई कार्यान्वयन गर्न माओवादीले अध्यक्ष प्रचण्डको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकले पार्टी प्रणाली र केन्द्रीय कमिटी कस्तो बनाउने भन्ने योजना बनाउन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । बैठकदे पार्टी पदाधिकारी चयन गर्न भने सकेन । माओवादीको अर्को बैठक जेठ १ गते बस्नेछ ।

0 comments

तपाईंको प्रतिकृया