युवासंघका अध्यक्षमाथि गोली प्रहार
फागुन २२ खोटाङ,मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका कार्यकर्ताको गोलि प्रहारबाट खोटाङमा युवासंघका एक कार्यकर्ता घाइते भएका छन् । माओवादी नेर्पा गाउँ कमिटीका लोकेन्द्र राई र ध्रुव राईको आक्रमणबाट युवा संघका गाउँ कमिटी अध्यक्ष पविन राई घाइते भएका हुन् ।
नेकपा एमाले ७ नम्बर इलाकाको छैठौं तथा नेर्पा गाउँ कमिटीको दशौं अधिबेशनको प्रचार प्रसार गरेर घर फर्कदै गर्दा राईमाथि भरुवा बन्दुक हानिएको एमालेका जिल्ला अध्यक्ष विशाल भट्टराईले जानकारी दिए।
ढाडको दायाँ भाग र देब्रे गालामा गोली लागेका राईको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । विवाद भएपछि माओवादी कार्यकर्ताले आक्रमण गरेको युवा संघले जनाएको छ ।
गोली प्रहार गर्ने दुबैजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया