राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता
फागुन २०, काठमाडौं । राष्ट्रपति रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच आज विहान भेटवार्ता भएको छ । शितल निवासमा भएको भेटमा चुनाबी सरकार गठनको प्रयासबारे उहाँहरुबीच छलफल भएको थियो ।
२२ गते अघि नै चुनाबी सरकार गठनको प्रयासमा मुख्य दलहरुबीच हुँदै आएको छलफल र त्यसको प्रगतिबारे प्रचण्डले राष्ट्रपति यादवलाई जानकारी गराउनु भएको थियो । राष्ट्रपतिले जेठमा चुनाब गराउन दलहरुबीच छिटो सहमति हुनुपर्नेमा जोड दिनुभएको बुझिएको छ ।
प्रधानन्यायाधीश खीलराज रेग्मीको नेतृत्वमा जेठ २२ गते अघि नै चुनावी सरकार गठनको प्रयासमा लागेका दलहरुबीच पछिल्लो समयमा औपचारिक छलफल हुन सकेको छैन ।
काँग्रेस र एमालेका शीर्ष नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले छलफल हुन नसकेको हो । औपचारिक रुपमा संयुक्त छलफल नभए पनि अनौपचारिक छलफल भैरहेको एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यद्यपी बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न नमिल्ने भन्दै सर्वोच्चमा परेको रिटमाथि २४ गते अन्तिम फैसला हुने भएकाले सो फैसला कुर्न काँग्रेस र एमालेभित्र आन्तरिक दवाव छ । तर, एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भने सर्वोच्चको फैसला अगावै बाधा अड्काउ फुकाउन कानून संसोधन गरिसक्ने प्रस्ताव राखेकोले दलहरुबीच सहमति हुन सकेको छैन ।

0 comments
तपाईंको प्रतिकृया