दलहरु प्रधानन्यायाधीश नेतृत्वमा सहमति नजिक
फागुन २३ काठमाडौं, मंगलबार बसेको प्रमुख चार दलको बैठक सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । नयाँ बानेश्वरमा बसेको बैठकमा नेताहरुबीच नागरिकता र मतदाता नामावलीको विषयमा सहमति भएको छ । बाँकी विषयमा पनि आज बस्ने दलहरुको बैठकबाट निष्कर्षमा पुग्न प्रयास गरिने बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिए ।
यसैगरी मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले दलहरुबीचको छलफल सकारात्मक भएको बताए ।
दलहरुबीच अब सेनामा लडाकुको दर्जा तथा सत्य निरुपण मेलमिलाप आयोग लगायतका विवादित विषयहरुमा सहमति हुन बाँकी छ ।
नेतृत्व र प्रक्रियाबारे दलहरु सहमती नजिक भएपनि सर्बोच्चमा परेको प्रधानन्यायाधिस विरुद्धको रिट र रिटमाथिको फैसलाले भने सरकार गठनमा समस्या परेको छ । रिटमाथि विहिबार सुनुवाई हुँदै छ । दलहरुबीच फैसला पर्खने कि नपर्खने भन्ने विषयमा समेत कुरा बाझिएको छ । प्रधानन्यायाधिसले पनि यो विषयमा फैसला पर्खनु राम्रो हुने सुझाएको बताईएको छ । राष्ट्रपति रामबरण यादवले समेत अघिल्लो भेटमा माओवादी अध्यक्ष प्रचण्डसंग अदालती फैसला पर्खन आग्रह गरेका थिए । यसपछि दलहरुमा केही अलमल समेत देखिएको छ ।
नेपाली काग्रेसका सभापति सुशील कोईरालाले प्रधानन्यायाधिस नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव माओवादी एक्लैको भनेर पन्छिने प्रयास समेत गरिसकेका छन् । मंगलबारमात्रै ताप्लेजुङमा आयोजित एक कार्यक्रममा कोइरालाले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको गठन हुन नसक्ने बताएका थिए। उनले माओवादीको बखेडाका कारण प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्न नसक्ने बताएका हुन् ।
दलहरुबीच सत्यनिरुपण तथा बेपत्ता खोजविन आयोग गठन र समायोजन पछि तालिममा सहभागि माओवादी लडाकुको दर्जा मिलानलगायतमा कुरा मिल्न नसक्दा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको संभावना कम रहेको कतिपयको भनाई रहेको छ ।
यसैबीच विवादित विषयमा थप छलफल गरी निश्कर्षमा पुग्न प्रमुख चार दलको बैठक आजपनि बस्दै छ । चार दलको बैठकअघि दलहरुबीच आन्तरिक छलफल हुने बताइएको छ ।
0 comments
तपाईंको प्रतिकृया