निर्वाचनबाट भाग्नेहरु लोकतन्त्र विरोधीःखनाल
काठमाडौं,चैत १९–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनबाट भाग्ने दलहरु लोकतन्त्र पक्षधर नभएको टीप्पणी गरेका छन् ।
लोकतन्त्र र बहुदलिय ब्यवस्था स्वीकार्छु भन्ने दलहरुले संविधानसभा निर्वाचन बहिस्कार गर्न नहुने भन्दै खनालले आन्दोलन छाडेर सहमतिमा आउन साना दलहरुलाई आग्रह गरे ।
उनले सरकारसंग बार्ता नगर्ने भनि नेकपा माओवादी सहित साना ३३ दलले गरेको निर्णय गलत भएको बताए ।
संविधानसभा निर्वाचन सफल बनाउन एमाले एकताबद्ध भएर अघि बढेको भन्दै खनालले अब कुनैपनि नेताका मुखबाट सहमति विरोधी अभिब्यक्ति नआउने दावी पनि गरे ।
उनले आउदो निर्वाचनमा मुद्धा मिल्ने दलहरुसंग चुनावी तालमेल गर्न एमाले तयार रहेको दोहोर्याए ।
नेता भिम रावलले निर्वाचन गराउने प्रयोजनका लागि गठित बर्तमान सरकारलाई सफल बनाउन राजनीतिक दल,बुद्धीजीवि नागरिक समाज तथा पत्रकार जगतले सघाउनुपर्नेमा जोड् दिए ।
उनले सरकारले निर्वाचन आयोगका लागि आवश्यक ऐन,कानुन तत्तकाल परिमार्जन गरि वातावरण निर्माण गर्नुपर्ने बताए ।
अर्का नेता अग्नी खरेलले विघटीत संविधानसभाले गरेका काम ग्रहण गर्दै बाकी विषय आउदो संविधानसभाबाट टुंगाउन अघि बढे मात्रै संविधान निर्माण संभव भएको बताए।

0 comments
तपाईंको प्रतिकृया