छोरा नजन्माएको भन्दै घर निकाला

२ बैशाख, दाङ । छोरा नजन्माएको भन्दै दाङका एक व्यक्तिले आफ्नी श्रीमतीलाई घरनिकाला गरेको पाँच बर्ष पुगेको छ । राजपुर–६ का उमानन्द यादवले श्रीमती सुन्दरपती यादवलाई पाँच बर्ष अघि घर निकाला गरेका हुन् ।
२०६५ सालमा घर निकाला गरेपछि बेसहारा बनेकी ५२ वर्षीया यादव अहिले माहिली छोरीको शरणमा बस्दै आउनुभएको छ । ‘न्याय खोज्दा–खोज्दा केश फुलिसक्यो तर अहिलेसम्म न्याय पाएन,’ उहाँले भन्नुभयो, ‘छोरो नपाएको आरोपमा मलाई घरमा बस्न दिइएन ।’
बुवा उमानन्दले आमालाई घरमा बसेको बेला पटक–पटक कुटपिट गरी गम्भीर घाइते बनाउँदै आएको छोरी चाँदनी यादवले बताउनुभयो । जेठी श्रीमतीबाट छोराछोरी नभएपछि उमानन्दले सुन्दरपती यादवलाई कान्छी श्रीमतीको रुपमा भित्राएका थिए ।
आमाबाट तीन बहिनी छोरी जन्मे पनि छोरा नजन्माएको भन्दै बाले घरनिकाला गरेको छोरी चाँदनीले बताइन् । बुवाले आमालाई घरमा बसी खान नदिएर लखेटेको भन्दै चाँदनीले आमालाई खान बस्न समस्या परेको बताउनु भयो । ‘कयांैपटक आमालाई घरमा लगेर बसालें तर बाले भने घरनिकाला गरिदिन्छन्,’ चाँदनीले भन्नुभयो ।
बुवालाई आमाको नाममा जति अंश पर्छ छुट्याइदिन आग्रह गर्दा पनि बरु उल्टै आफूसँग लड्ने गरेको चाँदनीको भनाई छ । बाले आमा र आफूहरुलाई अंश नदिने बताउँदै बरु उल्टै भाइको छोरालाई अंश दिन्छु भन्दै धम्काउँदै आएको बताउनुभयो । अहिले बुबाका नातेदारले सम्पत्ति दिन नहुने बताउँदै बुबालाई उक्साउँदै आएको उहाँले बताउनुभयो ।
0 comments
तपाईंको प्रतिकृया