पश्चिम नेपालका चुरेमा आगोलागी
अमृत अधिकारी
पाल्पा, २ बैशाख
पश्चिम नेपालका विभिन्न जिल्लाका चुरे जंगलहरुमा लामो समयको खडेरीका कारण वन जंगलमा आगोलागीहुने क्रम बढेको छ ।
पश्चिम नेपालका पाल्पा, गुल्मी, स्यांजा, अर्घाखाँची, प्यूठान लगायतका विभिन्न स्थानमा पनि आगलागीका घटना बढ्न थालेका छन् ।
तानसेनको श्रीनगरमा रहेको शिवमन्दिर सामुदायिक वनमा आगलागी भएको छ । आईतबार लागेको आगोलाई नेपाली सेना, वनका सदस्य, प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको सो सामुदायिक वनका अध्यक्ष विदुर घिमिरेले बताए ।
उता आगोलागीका कारण यस क्षेत्रका सयौं हेक्टर वन जलेर मरुभूमी वनेका छन् । गुल्मीको पहिचानका रुपमा रहेको रेसुंगा वनमा आगोलागी हुँदा करोडौंको वनजन्य जडिबुटि, जीवजन्तु, पशुपञ्छी जलेर नष्ट भएका छन् ।
गत बुधवारबाट लागेको आगलागी १ हप्ता हुन लाग्दा समेत नियन्त्रणमा आउन नसकेपछि शुक्रवार उद्योग वाणिज्यसंघ गुल्मीले तम्घास बजार बन्द गराएर आगो नियन्त्रण गर्न गएको थियो । आफ्नो जंगलमा आगो लाग्दा स्थानीय रमिते बनेर बसेपछि स्थानीयलाई दवाव दिन संघले बजारै बन्द गरेर आगोलागी नियन्त्रणमा गएको हो । प्रहरी, सेना, विद्यार्थी, स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भैरहेको छ । आगलागीका कारण हजारौं हेक्टर वनजंगल नास भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया