खुल्ला हाफ म्याराथन दौड सम्पन्न

पाल्पा २१ चैत्र – सामुदायिक रेडियो मदनपोखरा पाल्पाले पन्ध्रौँ वार्षिकोत्सवका अवसरमा बुधबार प्रतियोगितात्मक खुल्ला हाफ म्याराथन दौड सम्पन्न भएको छ । पाल्पाको माडी क्षेत्रमा आयोजित प्रतियोगितामा चिदिपानी ६ पाल्पाका २१ वर्षिय पिताम्बर गाहा प्रथम हुनुभएको छ । गाहाले ८ किलोमिटर ४ सय मीटरको निर्धारित दुरी ३० मीनेट ४८ सेकेण्डमा पूरा गरी पुरुषतर्फ प्रथम हुन सफल हुनुभएको हो । यसैगरी कसेनी ९ पाल्पाका २० वर्षिय पूर्ण रानाले ३० मीनेट ५८ सेकेण्डमा पार गरी दोस्रा र गोठादी २ पाल्पाका १८ वर्षिय शेरबहादुर सारुले ३१ मीनेट ४० सेकेण्डमा पार गरी तेस्रा हुनुभएको छ । महिलातर्फ तानसेन नगरपालिका १४ कुन्सरेकी २० वर्षिय मनिका बौडेलले ४५ मीनेट ५६ सेकेण्डमा निर्धारित दुरी पूरा गरी प्रथम हुनुभएको छ । यसैगरी तानसेन नगरपालिका १४ कै २३ वर्षिय पुष्पा पौडेलले ४९ मीनेट ३८ सेकेण्डमा पार गरी दोस्रा र मदनपोखरा ६ दमकडाकी १७ वर्षिय जानकी पाण्डेयले ५१ मीनेट २० सेकेण्डमा पार गरी तेस्रा हुनुभएको छ । प्रतिगोगितामा १९ महिलासहित ८० जनाले भाग लिएका थिए । मदनपोखराको तिन्टीआँपबाट शुरु भएको दौड दमकडा, सराई खहरे हुँदै पुनः दमकडामा आएर समापन भएको थियो । प्रतियोगिताका बिजेताहरुलाई बधाई ज्ञापन गर्दै सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले सामुदायिक भावना र सहभागिताको यो एउटा अनुपम दृष्टान्त हो भन्नुभयो । उहाँले प्रतियोगिताका माध्यमबाट रेडियोप्रति दर्शाउनुभएको मायाममताका लागि आभार प्रकट गर्नुभयो । खेल व्यवस्थापन उपसमितिका संयोजक माधवप्रसाद पाठकले यस्ता प्रतियोगिताले खेलाडीमा शारीरिक तन्दुरुस्ती कायम गर्न मद्दत पुग्नुका साथै भातृत्व र सामाजिक सद्भाव अभिवृद्धि हुने बताउनुभयो । खेलाडी तथा स्थानीय मानिसहरूले उत्साहपूर्वक दौडमा भाग लिई अनुशासित भएर प्रतिस्पर्धा गरेका थिए । जिल्ला प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापन गरेको थियो भने लुम्बिनी मेडिकल कलेजले चिकित्सकसहितको टोली धावनमार्गमा परिचालन गरेको थियो । बाटोको दुबैतर्फ पंक्तिबद्ध ठूलो जनसमुदायले खेलाडीलाई ताली पिटेर ऊर्जा थपेका थिए । रेडियोले त्रिदिवशीय कार्यक्रमका साथ वार्षिकोत्सव मनाउँदैछ ।

0 comments
तपाईंको प्रतिकृया