प्रचण्डको भ्रमण आर्थिक एजेण्डामा केन्द्रित
१ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण देशको हितमा केन्द्रीत गर्ने बताउनुभएको छ । साताव्यापी भ्रमणका लागि आज चीन प्रस्थान गर्नुअघि अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भ्रमण पारदर्शी हुने र नेपालको विकास तथा स्थायित्वका लागि केन्द्रित हुने जानकारी दिनुभयो ।
चीन र त्यसपछि हुने भारत भ्रमणको क्रममा राजनीतिक कुरालाई थाति राखेर नेपालको स्थायीत्व र आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी आफूले छलफल गर्ने प्रचण्डको भनाई छ ।
चीन भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले नवनिर्वाचित चिनियाँ राष्ट्रपति सी.चीन फीङ्ग, प्रधानमन्त्री लि खछ्याङ लगायतसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्डको उच्चस्तरिय भेटवार्ता बैशाख ५ गते हुने छ ।
चीनमा नेतृत्व परिवर्तनपछि दक्षिण एशियाबाट भ्रमण गर्ने प्रचण्ड पहिलो नेता हुनुहुन्छ । एकीकृत माओवादीले यो भ्रमणलाई छिमेकी देशहरुसँग सम्बन्ध बढाउन तय गरिएको जनाएको छ । भ्रमण टोलीमा प्रचण्डसहित पत्नी सीता, निजी सचिव चुडामणी खड्का, सन्तु दराई र अंगरक्षक दानबहादुर मल्ल गरी पाँचजना सहभागी छन् । भ्रमण टोली बैशाख ७ गते हङकङ हुँदै नेपाल फर्कने कार्यक्रम छ ।

0 comments
तपाईंको प्रतिकृया