गाई पालन ब्यावशायबाट फस्टाउदै

भुवन रायमाझी,
पाल्पा ९ बैशाख
गाईपालन ब्यवसाय आर्थिक उपार्जनको सहज माध्यम हुन थालेपछि पश्चिम पाल्पाका बिभिन्न गाविसका युवाहरु सामुहिक तथा ब्यक्तिगत रुपमा गाईपालन ब्यवसायमा जुटेका छन् ।
आफ्नै देशमा सक्दो मेहनत गर्दा दाम र नाम दुबै हुनेभएकोले यही मेहनत गर्न थालेको युवाहरुको भनाई छ ।
विदेशी भुमिमा सस्तो श्रम बेच्नुभन्दा स्वदेशमै कही गरौ भन्ने सोच लिएर मुझुंगका ५ जना युवाले एउटा समुह बनाई गाईपालन ब्यवसाय थालेका छन् । समूहका सदस्य कृष्ण कार्कीले गाईपालन राम्रो आम्दानीको स्रोत भएकोले आफूहरु यसतर्फ आकर्षित भएको बताउनुभयो । यस्तै छहरा ८ सल्लेधारामा रहेको उन्नत पशुपालन समूहले ५० वटा गाईबाट झण्डै २ सय लिटर दुध निर्यात गर्दै आएको समूहका सचिव खुमप्रसाद पोखरेल बताउनुभयो .।
सोमादी गाउँ बिकास समिति वडा नं. ६ का युवा अर्जुन पोखरेलले दैनिक ५० लिटर दुध बेच्नुहुन्छ । अर्जुनले मात्रै हैन उहाँका दाजुहरु भोजराज लालमणीले पनि बिकासे गाईपालन गरि दैनिक दुध दही र घिउँ बिक्री गरि मनग्ये आम्दानी लिँदै आउनुभएको छ ।
५ वर्ष अघि अर्जुनले नवलपरासी जिल्लाबाट २ वटा बिकासे गाई ल्याएर ब्यवसायिक रुपमा गाईपालन सुरु गर्नुभएको थियो । अर्जुनले ल्याएका २ वटै गाईले वर्षेनी गर्भाधारण गर्दै जाँदा ५ वर्षको अवधिमा तीनै जना दाजुभाईले ब्यवसायिक गाईपालन गर्न सुरु गरेको भोजराज पोखरेलले जानकारी दिनुभयो । आफूकहाँ यतिबेला ४ वटा दुध दुहुने गाई रहेको र प्रत्येक दिन ५० लिटर भन्दा बढीका दरले दुध बिक्री गर्दै आएको अर्जुनले जानकारी दिनुभयो ।
५ वर्षअघि २५ हजार लगानीबाट सुरु गरेको गाईपालन ब्यवसायबाट प्रत्येक महिना २५ हजार रुपियाँ आम्दानी हुने गरेको अर्जुनले बताउनुभयो । उहाँले भन्नुभयो “५, ७ हजार रुपियाँ खर्च कटाएर पनि प्रतिमहिना १८ हजार रुपियाँ भन्दा बढी बचत हुन्छ ।”
साँझको दुध चिस्यान केन्द्रमा राख्ने र बिहानको समेत गरि बिक्री बितरणका लागि सदरमुकाम तानसेन पठाउने गरेको भोजराज पोखरेलले जानकारी दिनुभयो ।
पश्चिम पाल्पाको छहरामा रहेको परोपकार स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाले सरकारले ल्याएको स्वरोजगार कार्यक्रम अन्तरगत सस्तो ब्याजमा ऋण उपलब्ध गराई युवाहरुलाई गाइपालन, कुखुरापालन, अदुवा खेती तर्फ बढी आर्कर्षित गराएको छ । सस्तो व्याजदरमा ऋण परिचालन गरी उनीहरुलाई जिविकोपार्जन गर्न सहज हुने भएकाले सहकारीले यस्तो अभियान चलाएको संस्थाका अध्यक्ष यमलाल घिमिरेले बताउनुभयो ।

0 comments
तपाईंको प्रतिकृया