Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मताधिकारका लागि १८ बर्ष

काठमाडौ १६ वैशाख – निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले संविधानसभाको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ मा संशोधन गरी आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिसम्म १८ वर्ष पुगेका नेपाली नागरिक तथा सैनिक/प्रहरी ब्यारेकमा रहेका व्यक्ति र वृद्धाश्रममा बसेका व्यक्तिको लागि समेत अस्थायी मतादाता नामावली तयार गरी निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयद्वारा सोमबार आयोजित नियमित प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहसचिव तथा प्रवक्ता टेकप्रसाद ढुङ्गानाले प्रस्तुत गरेको गत चैत महिना र यही बैशाख १५ गतेसम्मको प्रगति विवरणमा सो कुरा उल्लेख गरिएको छ । सोही विवरणअनुसार मतदाता नामावलीको कसैले दुरुपयोग गरेमा क्षतिपूर्ति दावी गर्न सक्ने व्यवस्था गरिएको छ भने निर्वाचन आयोग ऐन, २०६३ मा निर्वाचन हुने मितिभन्दा १२० दिन अघिको समयलाई निर्वाचनको अवधि मानिने छ भनेर उल्लेख गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्रकुमार थापाले प्रस्तुत गर्नुभएको गत चैत र यही बैशाख १५ गतेसम्मको प्रगति विवरणमा आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अवस्थामा बस्ने बारेमा सचिव बैठकबाट निर्णय भै सबै मन्त्रालयलाई निर्देशन भइसकेको उल्लेख छ । सो मन्त्रालयले सूचकाङ्कमा आधारित मासिक प्रगति, राष्ट्रिय गौरवका आयोजनाहरूको मासिक प्रगति र शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९ को मासिक प्रगति अनलाईनमा समेत हेर्न मिल्ने व्यवस्था गरेको प्रवक्ता थापाले बताए । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोकर्णमणि दुवाडीले गत चैत महिना र यही बैशाख १५ गतेसम्मको प्रगति विवरणमा प्रविधि अनुसन्धान केन्द्रसम्बन्धी अवधारणा तयार भएको र प्रयोगशाला स्तरीकरणका लागि विभिन्न प्रयोगशालाका २४ जना कर्मचारीलाई तालिम दिएको उल्लेख छ । त्यसैगरी सामान्य प्रशासन मन्त्रालयका सह सचिव तथा प्रवक्ता मुकुन्दराज पन्थीले गत चैत तथा यही बैशाख १५ गतेसम्मको प्रगतिविवरण, राष्ट्रिय योजना आयोगको सचिवालयका सहायक प्रवक्ता सागर आचार्यले गत चैत महिनाको प्रगतिविवरण र नेपाल ट्रष्टको कार्यालयका उपसचिव विनोद पोखरेलले गत महिनाको प्रगति विवरण प्रस्तुत गरेका थिए । रासस

0 comments

तपाईंको प्रतिकृया