बैद्यले भाग नलिए पनि चुनाव हुनेः प्रमुख दल
काठमाडौं,९ बैशाख – प्रमुख दलका नेताहरुले निर्वाचनको विरोधमा रहेका नेकपा माओवादी सहितका दलहरुले भाग नलिए पनि संविधानसभाको निर्वाचन नरोकिने दावी गरेका छन् । उनीहरुले नेकपा माओवादीले अघि सारेको उच्चस्तरीय राजनीतिक समिति खारेजी, वर्तमान सरकारको अन्त्य र गोलमेच सम्मेलनमार्फत अन्तरिम सरकारको गठन जस्ता कुनै पनि माग पुरा गर्न नसकिने समेत ठोकुवा गरे ।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले मुलुकको अहिलेको प्रमुख आवश्यकता निर्वाचन भएकोले नेकपा माओवादी नआए पनि निर्वाचन हुने बताए। उनले भने’निर्वाचन मुलुकको आवश्यकता हो । यसको विकल्प छैन। नेकपा माओवादी समयको प्रवाहसँगै अगाडि नबढे ईतिहासमा उ आफैँ लोप भएर जान्छ ।’
कांग्रेस नेता दिपकुमार उपाध्यायले नेपाली जनता निर्वाचनको पक्षमा भएकोले कुनै पनि हालतमा निर्वाचन हुने बताए । निर्वाचनको सुनिश्चितताको लागि अन्तिम समयसम्म पनि प्रयास गर्ने भन्दै उनले भने-’राजनीतिक रुपमा समस्या समाधान गरेर सम्पूर्ण दललाई चुनावमा भाग लिने बातावरण बनाउनुपर्छ । चारदलवीच सहमतिको क्रममा केही कमजोरी भएको रहेछ भन्ने त्यसलाई सच्याउन तयार हुनुपर्छ । निर्वाचन भए मात्रै देशले जित्छ ।’
एमाले नेता रघुजी पन्तले निर्वाचन नै मुलुकको निकासका एकमात्र विकल्प भएको भन्दै यो प्रक्रिया भाड्नेहरु राष्ट्रियता र लोकतन्त्रको पक्षधर नहुने दावी गरे । उनले निर्वाचन भाड्ने गरी आएका उच्चस्तरीय राजनीतिक समितिको खारेजी, गोलमेच सम्मेलन र वर्तमान सरकारको वर्खास्तको माग पुरा गर्नै नसक्ने स्पष्ट पारे ।
तराई मधेस लोकतान्त्रिक पार्टीका सह महामन्त्री जितेन्द्र सोनलले कुनै दल नआउँदैमा निर्वाचन नरोकिने बताए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरद सिंह भण्डारीले आफूहरु निर्वाचनको विरोधी नभएको भन्दै निष्पक्ष र स्वतन्त्र निर्वाचनको लागि उपयुक्त वातावरण निर्माण भए चुनावमा चुनावमा जाने घोषणा गरे ।
यद्यपी अहिलेको प्रक्रियाप्रति आफुहरुको आपत्ति रहेकाले सच्चाउनुपर्ने उनको भनाई छ ।
उनले सरकारसंगको वार्ता सफल हुने विश्वस पनि ब्यत्तः गरे ।
0 comments
तपाईंको प्रतिकृया