५ बैशाख, काठमाडौं । चीनका लागि पूर्वनेपाली राजदुत राजेश्वर देवकोटाले चीनमा नेतृत्व परिवर्तन भएको बेला पहिलो भ्रमण गरेर एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाजी मारेको बताउनु भएको छ । यद्यपि चीनको विश्वास अनुसारको ब्यवस्थापन गर्न चुनौतिपूर्ण रहेको बताउनु भएको छ । रिपोर्टर्स क्लबले विहीबार गरेको साक्षात्कारमा उहाँले सहमतिबाट राजनीतिक स्थायीत्व र शान्ति कायम गर्न प्रचण्डमा चुनौति थपिएको बताउनुभयो । ‘यति सजिलै चीनमा उच्च नेतृत्वसँग भेट हुँदैन । तर प्रचण्डले त्यो सम्मान प्राप्त गर्नु भएको छ । अब उहाँलाई जिम्मेवारी बहन गर्न अप्ठ्यारो पर्ने छ,’ साक्षात्कारमा देवकोटाले भन्नुभयो, ‘अब उहाँले सबै दललाई मिलाएर जान सक्नु हुन्छ की सक्नु हुन्न हेर्न बाँकी छ ।’ दुई वर्षको संविधानसभालाई चार बर्ष लम्ब्याउदा पनि संविधान बनाउन नसक्ने नेपाली नेताहरुलाई चीनले विश्वास गर्न कठिन रहेको उल्लेख गर्दै उहाँले नेपाली नेताहरुमा विश्वासको संकट रहेकोले चीनको विश्वास कायम राख्न नसके भ्रमणबाट उपलब्धि हात लाग्न नसक्ने टिप्पणी गर्नुभयो । चीनले नेपालमा अनन्य र विश्वासिलो मित्रको खोजिरहेको उल्लेख गर्दै देबकोटाले भन्नुभयो, ‘चीनले नेपालमा सुरक्षाको चासो खोज्छ । यहाँको स्थीरता, समृद्धि र शान्तिमा आफ्नो हित देख्ने गर्छ । नेपालमा चीन विरोधी गतिविधी हुन नदिने भित्रको खोजिमा छ तर प्रचण्डको बोली फेर्ने ब्यवहारले विगार्न पनि सक्छ ।’ चीनका लागि अर्का पूर्व नेपाली राजदुत टंक कार्कीले चीनमा नेतृत्व परिवर्तन भएको फरक परिस्थितिमा भएको प्रचण्डको भ्रमणलाई महत्वका साथ हेरिए पनि दलका नेता विशेषको भ्रमणलाई दुई देशको सम्बन्धको विकासको कडिको रुपमा बुझ्न नहुने बताउनुभयो । यद्यपि कार्कीले भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक बातावरण बनाउने विश्वास ब्यक्त गर्नुभयो ।
‘प्रचण्डले चीन भ्रमण गरेर बाजी मारे’

0 comments
तपाईंको प्रतिकृया