चुनावको मिति घोषणा गर्न समिति बैठक बस्दै
काठमाडौं ३० वैशाख चुनावी वातावरण बनाउने विषयमा निर्णय गर्न सोमबार उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै छ । आलो-पालो नेतृत्व गर्ने सहमतिअनुसार संयोजक बनेका काँग्रेस सभापति सुशील कोइरालाले समितिको बैठक डाकेका हुन् ।
साँझ पाँच बजेपछि नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचनको मिति घोषणा र सरकारको विपक्षमा रहेका आन्दोलनरत दलहरुसँगको वार्ता प्रक्रियाका बारेमा छलफल हुनेछ ।
आइतबार सभापति सुशील कोइरालाको निवास महाराजगंजमा बसेको नेपाली काँग्रेस पदाधिकारीको अनौपचारिक बैठकले चुनावी वातावरण बनाउने विषयमा छलफल गर्न समितिको बैठक बोलाउने निर्णय गरेको थियो । महामन्त्री कृष्ण सिटौलाका अनुसार संविधानसभा चुनावको मिति, ऐन नियम, चुनावी वातावरण बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
आजको बैठकमा निर्वाचन ऐनमा रहेका विवादित विषय, असन्तुष्ट दलहरुसँगको वार्ता र भट्टराईसरकारले गरेको नियुक्ति खारेजीका विषयमा छलफल हुनेछ । बैठकमा प्रमुख दलहरुले छुट्टाछुट्टै एजेण्डाहरु प्रस्तुत गर्ने जनाइएको छ । बैठकमा कांग्रेस–एमालेले थ्रेसहोल्ड कायम राख्नुपर्ने र भट्टराई सरकारले नेतृत्वको सरकारले गरेको नियुक्ति बदरको एजेण्डा तय गरेका छन् । तर, एमाओवादी र मधेसी मोर्चा त्यसको विपक्षमा छन् । उच्चस्तरीय राजनीतिक समितिमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु छन् ।
यसैगरी आलोपालोका रुपमा एक एक महिना नेतृत्व गर्ने गरी गठन गरिएको संयन्त्र अध्यक्ष रहेका कोइरालाको समयवअधि मंगलबार सकिँदैछ भने त्यसपछि एमालेका अध्यक्ष झलनाथ खनालले संयन्त्रको नेतृत्व सम्हाल्नेछन् ।
0 comments
तपाईंको प्रतिकृया