बिहीबार रुपन्देही जिल्ला बन्द आब्हान
कपिल ज्ञवाली बुटवल, १५ जेठ- विभिन्न माग राख्दै नेकपा -माओवादीले बिहीबार रुपन्देही जिल्ला बन्द गर्ने आब्हान गरेको छ ।तीन वटा घटनासंग सम्बन्धित माग पुरा गर्न प्रशासनलाई पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले एक दिनका लागि बन्द आव्हान गरेको माओवादीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जनाएको छ ।
माओवादीले रुपन्देहीको धकधईमा जेठ ९ गते पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएका परदेशी यादवलाई विना हर्त रिहाई गर्न माग गरेको छ । यादव गैर नेपालीलाई नागरिकता वितरण नगर्न आग्रह गर्ने क्रममा गाविस कार्यालयबाट पक्राउ परेको माओवादीले जनाएको छ ।
यस्तै पार्टीका अवध राज्य सदस्य शैलेन्द्र तिवारीको प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएको घटनाबारे प्रशासनले छानवीन समिति गठन गरेपनि प्रतिवेदन सार्वजनिक नगरेकाले तत्काल प्रतिवेदन सार्वजनिक गर्न,दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई राहत दिन माओवादीले माग गरेको छ । यसैगरी रुपन्देहीको हर्नैया गाविस भैसाखादरमा शहीद परिवार र अन्य भुमीहीन गरी तीन जनाको घर स्थानीय गुण्डा लगाएर भत्काइदिएको भन्दै माओवादीले घर भत्काउनेलाई पक्रेर कारवाही गर्न र पीडितलाई पुनस्थापना गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा माओवादी रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठ,सेक्रेटरी बन्धु चन्द,केन्द्रीय सल्लाहकार नेत्रनारायण शर्मा,लगायतले बोल्दै जायज मागहरु पुरा गर्न आग्रह गरेका थिए । यस्तै माओवादीले रुपन्देहीमा राष्ट्रिय स्वाधीनताबारे जागरण अभियान शुरु गरेको र अभियान अन्तर्गत दलालहरुको भण्डाफोर र संगठन सुदृढिकरण जस्ता कार्यक्रम गरिने जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया