बन्दका कारण जिल्लाको जनजीवन प्रभावित
अमृत अधिकारी पाल्पा, २ जेठ- सरकारले निर्वाचन मिति घोषणा र असंवैधानिक कदमको खारेजीको माग सहित नेकपा–माओवादीले आयोजना गरेको नेपाल बन्दका कारण पाल्पाको जनजीवन पूर्ण रुपमा प्रभावित बनेको छ ।बन्दले पाल्पाका उद्योग व्यवसाय, व्यापार, शैक्षिक संघ संस्था, वित्तिय संघ, संस्था, सरकारी कार्यालय, यातायात, कलकारखाना र पसलहरु पूर्ण रुपमा ठप्प बनेका छन् । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी, गाउँ गाउँमा चल्ने सवारी नचल्दा यात्रुहरु अलपत्र परेका छन् । बन्दले सेवाग्राही नआँउदा कार्यालय खुलेपनि काम नभएको पाल्पाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।
विहान ५ बजेदेखि नै माओवादीका कार्यकर्ताहरु बन्द सफल बनाउन सडक र चोक चोकका जम्मा भएका थिए शनिवार रातीदेखि परेको अविरल वर्षाका कारण बजारमा अन्य सर्वसाधारणको पनि उपस्थिति न्यून रहेको छ । बन्दकर्ताले एम्वुलेन्स, प्रेस, दुध, अस्पताल, शववहान, होटल रेष्टुँरा लाई भने सहज रुपमा संचालन गर्न दिएको नेकपा–माओवादी पाल्पाका सेक्रेटरी धिरज रानाले बताए । बन्दका कारण जिल्ला सदरमुकाम तानसेन, ग्रामिण बजारहरु वर्तुङ्ग, आर्यभञ्याङ्ग, ताँहु, रामपुर, दमकडा, सराई, खहरे, झडेवा, डुम्रे, प्रभास, बाँसटारी, भैरवस्थान, हार्थोक, छहरा, बतासे, अर्गली लगाएतका बजारहरु समेत पूर्ण रुपमा ठप्प भएका छन् ।
बन्दकर्ताले गाउँ गाउँमा समेत पसल नखोल्न र सवारी नचलाउन आग्रह गरेका छज् । जिल्लामा माओवादीको बन्द शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया