कृषि, ऊर्जा र पर्यटन समृद्ध नेपालको आधार- अर्थमन्त्री कोइराला
नारायण पंगेनी काठमाडौं, १४ असार । अर्थमन्त्री शङकरप्रसाद कोइरालाले कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास गर्न सके मुलुक दिगो विकासको बाटोमा प्रबेश गर्ने बताउनु भएको छ ।तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले नेपालसँग पर्याप्त स्रोत र साधन भएर पनि उचित परिचालन गर्न नसक्दा आर्थिक विकासमा पछि परेको स्वीकार गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री कोइरालाले कृषि क्षेत्रमा वित्तीय संस्थाहरुको कुल लगानी चार प्रतिशतमा सीमित रहेकाले खाद्य सुरक्षामा जटिलता पैदा हुनसक्ने सङकेत गर्नुभयो ।
उहाँले राजनीतिक गतिरोध अन्त्य भएपछि मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासले तीव्र गति लिने दावी गर्नु भयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यले नेपालको विकासमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । यस्तै, लगानी बोर्डका अध्यक्ष राधेश पन्तले लगानीको वातावरण बन्दै गएमा लगानी भित्रने सम्भावना रहेको बताउदै लगानीको वाताबरण बनाउन सबैलाई आग्रह गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले कृषि उत्पादनमा आधुनिकीकरण र बजारको व्यवसायीकरणले मात्र कृषि क्षेत्रको विकास दिगो हुने बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले नेपालको कृषि, ऊर्जा र पर्यटन क्षेत्रका लागि द्विपक्षीय र बहुपक्षीय हितका विषयमा नेपालसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालले कृषि क्षेत्रको विकासका लागि भूमिको उचित व्यवस्थापन र कृषि क्षेत्रमा सरकारी अनुदानमा वृद्धि गर्नुभयो ।
उहाँले नेपालको जलस्रोत र पर्यटन क्षेत्रको विकासका लागि भारतले नेपाल सरकारसँग मिलेर अगाडि बढ्न तयार रहेको बताउनु भयो ।

0 comments
तपाईंको प्रतिकृया