सिद्धार्थनगरको अभियानः अतिक्रमित जग्गा हटाइयो
नरेश के सी भैरहवा, जेठ २२ । सार्वजनिक जग्गालाई विभिन्न बहानामा केही व्यक्ति विशेषले नीजि प्रयोजनकोलागी वर्षौदेखी अतिक्रमण गर्दै आएको जग्गालाई सिद्धार्थनगर नगर पालिका भैरहवा रुपन्देहीले हटाएको छ ।शक्ति र राजनितीको दुरुपयोग गर्दै नगर भित्रको खेतीयोग्य १० विघा जग्गा ०६५ सालदेखी केही व्यक्तिले अतिक्रमण गर्दै आएका थिए । सो जग्गामाथीको अतिक्रमणलाई मंगलबार नगरले हटाइ आफ्नो उपभोग्य अधिकार भित्र ल्याएको नगरपालिकाका प्रमुख टिकादत्त राईले जनाए । प्रमुख राईले भने ” नगरको वडा नं ११ मा रहेको १० विघा जग्गा केही व्यक्तिले अतिक्रमण गरी निजी प्रयोग गरेको स्थानियको निवेदन तथा जिल्ला प्रसासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेश सहितको पत्र अनुसार हामीले अतिक्रमीत जग्गाको संरक्षण अभियान सुरु गरेका हौ ।”
अतिक्रमीत जग्गाको संरक्षणमा खटिएका नगरका नगर प्रहरी इन्चार्ज तारा बहादुर क्षेत्रीले गाउलेको सहयोगमा अतिक्रमित जग्गा नगरपालिकाले संरक्षण गर्न लागेको बताउदै अब सो जग्गामा वृक्षारोपण गरिने जनाए । स्थायीनिय जगदिश राजभरले ०६५ सालदेखी केहि व्यक्तिले जमानादेखीको गौचरन र मसानघाटलाई नेतागिरीको बलमा कब्जा गरेको र अहिले त्यसलाई नगरपालिकाको सहयोगमा अतिक्रमणलाई हटाईएकोमा आफु लगायत सम्पुर्ण स्थानीय खुसीले गदगद भएको जनाए । सो जग्गा ०६५ साल अघिसम्म गौचरनको रुपमा रहेको तर पछिल्लो समय केहि व्यक्तिले कब्जा गरी नीजि प्रयोग गर्दै आएका थिए ।
यस सम्बन्धमा स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौं, जिल्ला प्रसासन कार्यलय रुपन्देही,सिद्धार्थनगर नगरपालिकाको कार्यलयलाई ०६५ साल यता बारम्बार पत्र तथा डेलिगेसन गई सार्वजनिक जग्गा अतिक्रमण भएको जानकारी गराएका थिए । अन्ततः हाल नगरका कार्यकारी अधिकृत राईको सक्रियतामा जग्गामाथीको अतिक्रमण हटाईएकोमा स्थानिय खुसी भएका छन् ।

0 comments
तपाईंको प्रतिकृया