Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
हाम्रो एजेन्डा पराजित भएको छैन : भट्टराई

हारे पनि लुम्बिनीको विकासमा लागि पर्ने प्रतिवद्धता
बुटवल ८ मंसिर,  एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू र आफ्नो पार्टीको पराजयलाई एमाओवादीले उठाएका एजेन्डाहरुको पराजय मान्न नमिल्ने बताएका  छन ।
डा भट्टराईले यथास्थितिवादीहरुले घेराबन्दी र षड्यन्त्र गरेर एमाओवादीलाई हराए पनि अहिलेसम्म मुलुक एमाओवादीकै एजेन्डाबाट अघि बढिरहेको बताए । संविधानसभा एमाओवादीकै एजेन्डा भएको बताउदै उनले  पार्टीले वैधानिक प्रक्रियाबाट अघि बढेर जनताका अधिकारलाई सुनिश्चित गराउन संघर्ष जारी रहने बताए ।

चुनाव सकिएपछि शनिबार बुटवलका मतदाताहरुलाई विज्ञप्तिमार्फत् धन्यवाद ज्ञापन गर्दै डा. भट्टराईले भनेका छन ‘मैले मेरो र हाम्रो पार्टीको यो पराजयलाई एकीकृत माओवादीले उठाएको एजेण्डाको पराजयको रुपमा कदापि लिएको छैन र वास्तविकता त्यस्तो होइन भन्ने पूरा विश्वास छ ।’ ‘खासगरी अहिले मुलुकको राजनीतिको मूलधारमा देखिएका संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, पहिचान, राज्यको अग्रगामी पुर्नसंरचनालगायतका अग्रगामी एजेण्डाहरुको भ्रमपूर्ण अपव्याख्या र चुनाव जित्नका लागि प्रयोग गरिएका अनेकखाले अलोकतान्त्रिक र अमर्यादित हतकण्डाले यो चुनावी परिणाम निम्त्याएको मेरो ठम्याइ रहेको छ ।’
निर्वाचनका बेला एमाओवादीले लोकतान्त्रिक पद्दतिअनुसार विपक्षीलाई गाली नगरी चुनाव प्रचार गरेको तर कांग्रेस र एमाले लगायतका प्रतिपक्षीहरुले भने एमाओवादी नेतृत्वको चरित्र हत्या गर्नेदेखि लिएर अनेक हथकण्डा अपनाएको भट्टराईको बताएका छन। ‘हामीले उच्चतम् लोकतान्त्रिक पद्दतिअनुसार बहुदलीय प्रतिस्पर्धात्मक तरिकाले आफ्नो प्रचार अभियान अघि बढायौं ।’ भट्टराईको भनाइ छ, ‘तर, यो ऐतिहासिक संविधानसभाको निर्वाचनमा पनि पूर्णतया संसदीय निर्वाचनको झल्को दिने गरी एमाले कांग्रेसजस्ता पुराना संसदवादी दलहरुले निषेधात्मक तरिकाले अलोकतान्त्रिक प्रचार शैली अपनाउँदा हाम्रा एजेण्डा र हामीले विगतमा सरकारमा रहँदा वा बाहिर रहँदा शान्ति, संविधान, लोकतन्त्र र राज्यको अग्रगामी रुपान्तरणका सवालमा गरेका कामकारबाहीहरुको गलत व्याख्या गरियो ।’

डा  भट्टराईले आफूले रुपन्देही ४ मा निर्वाचन हारे पनि त्यहाँको विकास एवं जनताको हितका लागि निरत््न्तर लागिरहने प्रतिवद्धता जनाएका छन। ‘मैले तपाईं रुपन्देही तथा लुम्बिनी क्षेत्रका जनतालाई चुनाव प्रचारको क्रममा पनि के विश्वास दिलाएको थिएँ भने मैले जित्दा मात्र होइन हार्दा पनि यस लुम्बिनी क्षेत्रको एकीकृत र तीव्र विकासमार्फत नयाँ नेपाल निर्माणको सुरुवात गर्ने बचन दिएको थिएँ ।’ उहाँको भनाइ छ, अहिले पनि म त्यही प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
पुर्व प्रधानमन्त्रि समेत रहेका डा भट्टराई रुपन्देही क्षेत्र नं ४ वाट पराजित भएपनि गोरखा  १ वाट धेरै मत अन्तरले विजयी भएका छन । उनले दुवै क्षेत्रका मतदाताहरुलाइ धन्यवाद  दिएका छन ।
डा बाबुराम भट्टराईद्धारा रुपन्देहीका जनतालाई धन्यवाद ज्ञापन

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !

सर्वप्रथम गत मंसीर ४ गते सम्पन्न भएको संविधानसभाको निर्वाचनमा यहाँहरुको उत्साहपूर्ण सहभागिताका लागि हार्दिक कृतज्ञता प्रकट गर्दछु । सोही निर्वाचनमा म हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, धर्म तथा विभिन्न समुदायहरुको पहिचान र अधिकारलाई स्थापित गर्ने र मुलुकको शासकीय स्वरुप तथा राज्य संयन्त्रमा आमूल परिवर्तन गर्दै मुलुकको तीव्र आर्थिक विकासका लागि उठाएको परिवर्तनकारी एजेण्डाहरु र बुटवलगायत समग्र लुम्बिनी क्षेत्रको एकीकृत विकासको थप एजेण्डा लिएर रुपन्देही क्षेत्र नं. ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएको थिएँ ।

रुपन्देहीबाट मेरो उम्मेदवारीले निश्चय पनि यस क्षेत्रको एकीकृत आर्थिक विकासका लागि नयाँ मार्ग प्रशस्त गरेको मैले अनुभव गरेको छु । सो क्रममा हामीले हाम्रा एजेण्डाहरुलाई जनस्तरसम्म लैजाने क्रममा प्रतिस्पर्धी राजनीतिक दलका साथीहरुले धेरै प्रकारका बाधा अड्चनहरु पैदा गरे । हामीले तपाईं जनता सामु आफ्ना परिर्वतन, अग्रगमन अनि आर्थिक समृद्धिका एजेण्डाहरुको मात्रै कुरा ग¥यौं । हाम्रो विश्वास के थियो भने तपाईं जनताले हाम्रा एजेण्डाहरुलाई बुझेर एकीकृत माओवादीलाई परिवर्तनकारी शक्तिको रुपमा विजयी गराउनुहुनेछ । तर, अन्य प्रतिस्पर्धी दलका साथीहरुले हामी र हाम्रा एजेण्डालाई पूराका पूरा बहिस्कार गर्दै निषेधात्मक तरिकाले हाम्रो केन्द्रीय नेतृत्व र पार्टीको बद्ख्वाईं गर्दै चुनाव प्रचार गरे । तर, हामीले चुनाव प्रचारका क्रममा कहिल्यै पनि अन्य दलहरुको आलोचना गरेनौं ।

हामीले उच्चतम् लोकतान्त्रिक पद्धतीअनुसार बहुदलीय प्रतिस्पर्धात्मक तरिकाले आफ्नो प्रचार अभियान अघि बढायौं । तर, यो ऐतिहासिक संविधानसभाको निर्वाचनमा पनि पूर्णतया संसदीय निर्वाचनको झल्को दिनेगरी एमाले कांग्रेसजस्ता पुराना संसदवादी दलहरुले निषेधात्मक तरिकाले अलोकतान्त्रिक प्रचार शैली अपनाउँदा हाम्रा एजेण्डा र हामीले विगतमा सरकारमा रहँदा वा बाहिर रहँदा शान्ति, संविधान, लोकतन्त्र र राज्यको अग्रगामी रुपान्तरणका सवालमा गरेका कामकारबाहीहरुको गलत व्याख्या गरियो । मैले आफ्नो प्रधानमन्त्रित्व कालमा बागमतीको किनारमा जोखिमपूर्ण बसोबास गरिरहेका भूमिहिन गरिब मजदुर तथा सुकुम्बासीहरुलाई व्यवस्थित रुपमा सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न गरेको असाध्यै सकारात्मक र संवेदनशील पहल तथा काठमाडौंको साँघुरो बाटोलाई फराकिलो बनाएर अस्तव्यस्थ र अव्यवस्थित बसोबासले गाँजेको काठमाडौं सहरलाई व्यवस्थित सहरको रुपमा विकास गर्ने अभियान स्वरुप गरेको सकारात्मक पहलकदमीलाई दुष्प्रचार गर्दै हाम्रो रचनात्मक पहलकदमीलाई निषेध गरे । यथास्थितिवादी, पुनरुत्थानवादी तथा पुराना संसदवादी शक्तिहरुले यो निर्वाचनमा विभिन्न हतकण्डाहरु प्रयोग गरे र एकीकृत नेकपा (माओवादी) लाई षड्यन्त्रपूर्वक घेराबन्दी गरी माओवादीको एजेण्डालाई सम्पूर्ण रुपले तिरस्कार गर्ने काम गरे । परिणाम स्वरुप हामीले एकप्रकारको अनपेक्षित पराजय भोग्नुप¥यो ।

यद्यपि मैले मेरो र हाम्रो पार्टीको यो पराजयलाई एकीकृत माओवादीले उठाएको एजेण्डाको पराजयको रुपमा कदापि लिएको छैन र वास्तविकता त्यस्तो होइन भन्ने पूरा विश्वास छ । खासगरी अहिले मुलुकको राजनीतिको मूलधारमा देखिएका संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, पहिचान, राज्यको अग्रगामी पुर्नसंरचनालगायतका अग्रगामी एजेण्डाहरुको भ्रमपूर्ण अपव्याख्या र चुनाव जित्नका लागि प्रयोग गरिएका अनेकखाले अलोकतान्त्रिक र अमर्यादित हतकण्डाले यो चुनावी परिणाम निम्त्याएको मेरो ठम्याई रहेको छ । तर, राज्यको अग्रगामी रुपान्तरण र आर्थिक समृद्धिका सवालमा एकीकृत माओवादीले उठाएका एजेण्डाहरु वास्तवमै सहि छन् र ती एजेण्डाहरुले नै मुलुकको कायाकल्प गर्ने विश्वास व्यक्त गर्दछु । त्यसकारण हामी उत्पीडित वर्ग, जाति, क्षेत्र, धर्म र लिंगका समुदायहरुलाई राज्य संयन्त्रमा आफ्नो हकहिस्सा दिलाउन र उनीहरुको पहिचानलाई स्थापित गर्न जुनसुकै संघर्षको रुप अवलम्बन गर्न पनि हरदम तयार छौं । यद्यपि संविधानसभा माओवादीको आफ्नो एजेण्डा भएको र अहिले मुलुकको केन्द्रीय राजनीतिमा माओवादीकै एजेण्डाहरु हावी भइरहेको सन्दर्भमा हामीले यहि वैधानिक विधि र प्रक्रिया प्रयोग गरेर जनतालाई समृद्ध तुल्याउने अभियानमा लाग्नेछौं ।

साथै मैले तपाईं रुपन्देही तथा लुम्बिनी क्षेत्रका जनतालाई चुनाव प्रचारको क्रममा पनि के विश्वास दिलाएको थिएँ भने मैले जित्दा मात्र होइन हार्दा पनि यस लुम्बिनी क्षेत्रको एकीकृत र तीव्र विकासमार्फत नयाँ नेपाल निर्माणको सुरुवात गर्ने बचन दिएको थिएँ । अहिले पनि म त्यही प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । खासगरी यस क्षेत्रमा मेरो उम्मेदवारीलाई लिएर अनेकखाले टिकाटिप्पणी गर्दै मेरो उपस्थितिलाई अनेक बहानामा अस्वीकार गर्नेसम्मका अलोकतान्त्रिक व्यवहारहरु प्रदर्शन भए, गरिए । तर, मेरो काम गर्ने शैली अनुसार म जुन काममा लाग्छु, निरन्तर त्यसैमा होमिन्छु । यसर्थ, अब यस क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासका लागि म पूर्णतया कटिवद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

मैले स्थानीय चुनावी प्रतिबद्धतापत्र र आम मतदाताहरुलाई जारी गरेको अपिलमा भनेझैं विश्वलाई ज्ञानको ज्योति दिने गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय विकास केन्द्रको रुपमा स्थापित गर्दै समग्र लुम्बिनी क्षेत्रलाई ऐतिहासिक र धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गरी वार्षिक १ करोड पर्यटकहरुलाई भ्रमण गराउने लक्ष्य अनुरुप समग्र लुम्बिनी अञ्चलकै एकीकृत विकासमा दृढतापूर्वक लाग्नेछु । साथै बुटवललाई समग्र लुम्बिनी र पश्चिमाञ्चल क्षेत्रकै आर्थिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप यहा“को औद्योगिक, व्यापारिक तथा पर्यटकीय क्षेत्रहरुको विकास र विस्तारमा जोड दिनेछु । बुटवललगायतका क्षेत्रलाई अत्याधुनिक सहरको रुपमा योजनाबद्ध विकास गरी यस क्षेत्रमा देखिएका भूमिहीन गरीब किसान, मजदुर तथा सुकुम्बासी लगायतका समस्या न्यायपूर्ण ढंगले समाधान गर्ने दिशामा मेरो दृढ प्रतिबद्धता रहनेछ ।

यसपालीको मेरो र हाम्रो पार्टीको पराजयलाई हामीले अर्को ठूलो विजयको संकेतको रुपमा ग्रहण गरेका छौं । मूलतः पहिचान, अधिकार तथा अग्रगमनसहितको नया“ संविधान र समृद्ध मुलुक निर्माणका लागि एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले उठान गरेका एजेण्डाहरु सहि र वैज्ञानिक छन् । यसर्थ, हामीले ती एजेण्डाहरुलाई जनस्तरसम्म पु¥याउने र जनताको पीरमर्का र समस्याहरुलाई समाधान गर्दै जनताको हक, अधिकार, पहिचानस्थापित गर्दै आर्थिक समृद्धिका सपनालाई साकार पार्ने दिशामा हाम्रो क्रियाशीलता झन् तीव्र हुने प्रतिबद्धता व्यक्त गर्दै एउटा चुनावी परिणामबाट कत्ति पनि बिचलित नभई हामीले हाम्रो लक्ष्यमा पुग्ने विश्वासका साथ अघि बढ्न सबै आम जनसमुदायहरुमा हार्दिक अपिल गर्न चाहन्छु । साथै हामीप्रति विश्वास र भरोसा गर्नुहुने र मलाई तथा हाम्रो पार्टीलाई आफ्नो अमूल्य मत दिई सहयोग गर्नु हुने आम जनसमुदायलाई हार्दिक आधार प्रकट गर्दछु ।

साथै यो निर्वाचन अभियानको क्रममा अहोरात्र खटेर सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु त्था साथिहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद !

डा. बाबुराम भट्टराई
८ मंसिर २०७० एकीकृत नेकपा (माओवादी)

0 comments

तपाईंको प्रतिकृया