Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ?

गीता कँडेल

न्यानो पार्न खोज्दा ध्यान पुर्‍याइएन भने नभएको निमोनिया निम्तिने मात्रै होइन, केटाकेटीको ज्यानै समेत जान सक्छ ।
घरभित्र आगो बालेर न्यानो पार्न खोज्दा धुँवाका कारण र रुघाखोकी तथा ज्वरोको डरले गुम्साएर राख्दा निमोनियाको खतरा धेरै हुन्छ । बाल स्वास्थ्य महाशाखाका निर्देशक डाक्टर सेनेन्द्रराज उप्रेती भन्नुहुन्छ, ‘चिसोका कारण निमोनिया हुने होइन । यो बेला बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले निमोनिया बढ्न सक्छ, त्यसैले चिसोबाट जोगाउनुपर्छ ।’
नेपालमा धेरैजसो बालबालिकामा लामो समय आमाको दूध खान नपाउने, साँघुरो ठाउँमा बस्ने र घरभित्रको धुँवाका कारण निमोनिया भएको पाइएको छ । सबै उमेरमा निमोनियाको जोखिम हुने भएपनि पाँच वर्ष मुनिका बालबालिकामा कडा खालको निमोनिया हुने उप्रेतीले बताउनुभयो ।
के हो त निमोनिया ?
निमोनिया भाईरस या ब्याक्टेरियाको आक्रमणका कारण फोक्सो सुन्निने रोग हो । निमोनिया लागेपछि खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र सास फेर्न कठिनाई हुने गर्छ ।
बच्चाले छिटो छिटो सास फेरेमा, कोखा हानेमा, झोल वा खानेकुरा खान नसकेमा, आमाको दुध चुस्न नसकेमा, २ महिना मुनिका बालबालिकालाई ज्वरो आएमा वा बच्चा कुपोषित भएमा निमोनिया भएको हुनसक्छ ।
एक्सरे र खकारको परिक्षणबाट निमोनिया लागे नलागेको थाहा पाउन सकिन्छ । धेरैजसो अवस्थामा एन्टीबायोटिक औषधी दिएर निमोनियाको उपचार गर्न सकिने भएपनि बेलामा उपचार नगर्दा अवस्था गम्भीर हुने र अस्पताल नै भर्ना गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
कसरी जोगाउने त ?
चिसो मौसममा केटाकेटीलाई न्यानो पारेर राख्नुका साथै ६ महिनासम्म नियमीत स्तनपान, आवश्यक पोषण, धुँवा धुलोबाट जोगाउने र आवश्यक पर्ने जति खोप दिए निमोनियाबाट जोगाउन सकिने बालस्वास्थ्य महाशाखाका निर्देशक उप्रेतीको भनाइ छ ।
यस्तै बच्चालाई जन्मेको ६ महिनासम्म नियमीत आमाको दूध मात्रै खुवाउने, त्यसपछि आमाको दूधसंगै पोषिलो खानेकुरा खुवाउने, बच्चा निसास्सिने वातावरणमा नराख्ने तथा चिसो हुन्छ भनेर गुम्स्याएर नराख्ने गर्नुपर्छ ।
बालबालिकालाई निमोनियाबाट जोगाउन परिवारले निमोनिया के हो ? लक्षण कस्तो हुन्छ ? उपचार गर्न कहाँ जानुपर्छ जस्ता कुरामा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
निमोनियाका कारण विश्वभर ४५ करोड मानिस प्रभावित हुन्छन् भने ४० लाख जनाको ज्यान जाने गरेको छ । सबै उमेरमा निमोनिया हुने भएपनि पाँच वर्ष भन्दा कमका र निकै वृद्धावस्थामा यसको जोखिम बढी हुन्छ ।
निमोनियाबाट हुने मृत्युदर घटाउन सरकारले सन् २०१४ देखि बालबालिकालाई न्यूमोककल भ्याक्सिन दिने तयारी गरेको छ । यो खोप सबै जिल्लामा निशुल्क प्रदान गरिने छ ।
विश्व स्वास्थ्य संगठनका विशेषज्ञ सहितको टोलीले खोपको प्रभावकारीता, प्रकृति, खोप दिने उमेर लगायतका विषयमा अध्ययन गरिरहेको बालस्वास्थ्य महाशाखा अन्तर्गत खोप शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भू ज्ञवालीले जानकारी दिनुभयो । यो खोपका तीन मात्रा दिईने छ भने पहिलो खोप ६ महिनाको उमेरमा दिने तयारी भएको ज्ञवालीले बताउनुभयो ।
निमोनियासँगै झाडापखालामा पनि जोड
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१२ मा निमोनियाका कारण पाँच वर्ष मुनिका ११ लाख बालबालिकाको ज्यान गएको थियो, त्यसमा पनि धेरैजसो २ वर्ष मुनिका रहेका थिए । निमोनिया र झाडापखालाका कारण मात्रै विश्वभर हरेक वर्ष २० लाख बालबालिकाको ज्यान जाने गरेको छ ।
नेपालमा निमोनियाका कारण हरेक वर्ष पाँच वर्ष मुनिका ५ हजार ६ सय बालबालिकाको ज्यान जाने गरेको छ । सन् २०११ को तथ्यांक अनुसार हुने कुल बालमृत्युमध्ये १६ प्रतिशत निमोनिया र ११ प्रतिशत झाडापखालाबाट हुने गरेको छ ।
विश्वभर बालमृत्युको मुख्य कारकका रुपमा रहेकाले यी दुई रोग विरुद्ध संयुक्त रुपमा अभियान चलाउनुपर्नेमा बाल स्वास्थ्य महाशाखाले जोड दिएको छ ।
चिसोका बेला केटाकेटीलाई सबैभन्दा बढी निमोनियाले दुःख दिन्छ । बेलामा उपचार भएन भने केटाकेटीको ज्यानै जाने डर हुन्छ, त्यसैले प्रायः सबै आमाबाबुको ध्याउन्न केटाकेटीलाई न्यानो पार्ने नै हुन्छ । तर होस गर्नु भएको छ ?
जाडो मौसम सुरु भएसँगै अभिभावकलाई एउटै चिन्ता हुन्छ, केटाकेटीलाई कसरी चिसोबाट जोगाउने ।

0 comments

तपाईंको प्रतिकृया