क्यान्टोनमेन्टका पट्यारिला दिनहरु
अघिदेखि गिलासको चियाभन्दा मेरो ध्यान उसैतिर छ । जस्तो, आज साउजीले
चियापत्ति कम हालेर वेस्वाद र वेरङको बनाएका छन् यो चिया, मैले उसको अनुहार
पनि उस्तै वेस्वादिलो र वेरङगी पाएको छु । के यही हो त मेरो साथी ? जोसँग
मैले पछाडीको भाग पूरै देखिने गरी च्यातिएको कट्टु लगाएर वर्षाैँ बिताएको
थिएँ । जोसँग मैले माटोको घर बनाएर भाँडाकुटी खेलेको थिएँ । जोसँग मैले
घरबाट डटपेनको रिफिल किन्न भनेर लिएको पैसाले चकलेट किनेर खाएको भोलीपल्ट
आमाको कुटाई भेटेको थिएँ । जोसँग बाल्यकालको बौलठ्ठिपनाले जिरे खुर्सानी
खाने प्रतिपष्र्धा गरेर भोलिपल्ट दिसा बस्नै नसकेर रोएको थिएँ । जोसँग घर
लिप्नलाई आमाहरुले खन्ने गरेको माटोको खाल्टोमा गएर आची गरेको थिएँ । के
यही हो त कक्षामा सँधै प्रथम हुने मेरो प्यारो साथी रमेश ?
के तिमी रमेश नै हौ ?
भो सोध्दिन, किन सोध्नु । किनकी मैले नपत्याई धरै छैन । यही त हो मेरो
साथी रमेश, जो पाँच कक्षा पढ्दा पढ्दै ‘बुर्जवा’ शिक्षापद्धति र दलाल
‘नोकशाहीतन्त्रका विरुद्ध’ भन्दै ‘पार्टी’ मा लागेको थियो। यही त हो कमरेड
संगिन भनेर चिनिने मेरो बालसखा । र, आज जोसँग ११ वर्षपछि भेट भएको छ ।
...
रमेशको यो प्रश्नले मलाई एकपटक झस्कायो । मेरो सोच भंग गरिदियो । चिया आधा
गिलास बनाईसकेको रहेछ उसले । सायद ऊ पार्टीमा लागेको तीन वर्षपछि मेरो
चल्तीको नाम जीवन भएको उसलाई थाहा रै’नछ क्यारे । उनीहरुजस्तो पार्टीमा
लागेर नाम फेरेको होईन । तर, के थाहा मेरो नाम ‘जीवन’ हुनुमा कतै उनीहरुको
प्रभाव त थिएन ? खोई मलाई थाहा छैन । रहरै रहरमा राखेको नाम अहिले चल्तीको
भएको छ । अचेल म मेरो वास्तविक नामभन्दा यही नामले परिचित छु भन्ने कुरा
पनि उसलाई थाहा रै’नछ सायद । कि उसले थाहा पाएर पनि मलाई जीवन भनेर बोलाएन
या उसले वर्षाैँपछि भेटिदा पनि उही बाल्यकालको नाम नै प्यारो ठान्यो ? सायद
उसलाई म सानातिनो लेखक हुँ भन्ने पनि थाहा छैन कि ? मलाई त जय भन्नुको
सट्टा जीवन भनेको नै सहज लाग्छ अचेल । जसरी, उसलाई रेमश भन्दा पनि संगिन
भनेको नै सहज लाग्दो हो । अझ अगाडि ‘कमरेड’ झुण्ड्याउँदा गर्वले छाती
फुल्दो हो उसलाई । मैले उसलाई कमरेड भनिरहन उचित ठानिन । यो त उनीहरुको
भाषा पो त । कमरेडको ‘क’ सँग सम्बन्धित नभएको म बबुराले मेरो बालसखालाई किन
कमरेड भनिरहनु प¥यो । बरु संगिन चाही भन्दिनुपर्ला ।
‘अँ ठिकै छ, चलिरहेको छ ।’
मैले उसलाई भने, ‘बरु तिम्रो खबर के छ संगिन ? कहाँ छौ अचेल ?’
उसले अनुहार अलि निन्याउरो बनायो । हामीले पिईरहेको दूधबिनाको चियाभन्दा
पनि गाढा भयो उसको अनुहार । मैले उसलाई संगिन भनेर बोलाएकोमा उसको अनुहार
गाढा भयो या उसको बारेमा जान्न चाहेकाले ? म अनभिज्ञ छु ।
लामो समयको अन्तरालपछिको यो भेट । गाउँमा आएको छ भन्ने सुनेर म नै उसलाई
भेट्न आएको हुँ । कुनै दिन म बिरामीले स्कुल जान पाईन भने सरसँग बिरामी
भएको बहाना गरेर दौडदै मेरो घरमा आईपुग्ने मेरो साथी आज यतिका वर्षपछि गाउँ
फर्किदा पनि किन मेरो घरमा आएन ? किन मेरो बारेमा सोधेन कसैसित ? के उसले
बिर्सिदियो हाम्रो बाल्यकाल ? मलाई विश्वास छ उसले पक्कैपनि बिर्सेको छैन ।
लौ ठिकै छ, मेरो विश्वासले गम खायो रे, उसले बिर्सिदियो रे हाम्रो
बाल्यकाल । तर, अहँ म भने पटक्कै बिर्सिन सक्दिन ।
...
‘एकदिन स्कुलमा हेड सर नआएको दिन पारेर हामी जंगल हिड्यौँ । स्कुलमा हेड
सर नभएको दिन त हो हामीले मनलाग्दी गर्न पाउने । यही दिन त हो हामी
लगामबिनाको घोडाझैँ हुने । अरु सरहरुको डर लाग्थेन । किनकी हेड सरले जति
अरु कसले पिटथ्यो र हामीलाई ? रमेश कक्षाको प्रथम विद्यार्थी, म दोश्रो । म
अलि होचो कदको भएपनि ऊ भने त्यस्तो थिएन । स्कुलमा उसले भनेको नमान्ने पनि
कोही थिएन । प्रावि तहसम्मको पढाई हुने स्कुलमा पाँच कक्षा पढ्ने भनेपछि
हामी नै थियौँ त्यतिबेलाको ‘दादा’ ।
कक्षा प्रथम भएको हुनाले पनि उसले भनेको सबैले मान्थे नै । दिउँसो एक
बजेको खाजा खाने समयमा हामी घरबाट लिएको हरियो खुर्सानी र लसुनको काँचो नून
अनि कोदोको रोटी बोकेर जंगल हानिएका थियौँ । गाउँघरमा दशैतिहारपछि भोज
खाने भन्दै दाईदिदीहरुको यसरी नै जंगल गएको हामीले देखेका थियौँ ।
स्कुलभन्दा झण्डै १५ मिनेट टाढा जंगल पुगेर सबैले घरबाट ल्याएको रोटी
बाँडिचुडी खायौँ, र फर्कियौँ । रमेशलाई मौरीको राजा बनाएर हामी मौरी बन्यौँ
। ऊ अघिअघि अस्पष्ट केही गुनगुनाउँदै थियो हामी पछिपछि त्यसको सिको गर्दै
गयौँ ।
भोलिपल्ट कुन्नी कसले हो हामी जंगल भएको कुरा हेडसरलाई भनिदिएछ । हेडसरको
रामधुलाई भेटिहाल्यौँ । विचरा रमेशलाई अलि बढि नै पिट्नुभयो सरले, सायद
हामी सबैभन्दा अलि जान्ने उही नै भएकाले होला । आखिर हाम्रो कक्षाको
अभिभावक उही त थियो । बाँसको लौरीको कुटाईले चार÷पाँच दिनसम्म हात निलैै
भयो । त्यसपछि हामी कहिल्यै जंगल गएनौँ ।’
...
‘मेरो हालखबर किन सोध्छौँ जय । म त पूरै रित्तो भएको छ । सकिएको छु
भित्रैदेखि । लुटिएको छु र हराएको आफ्नाहरुबाट । र पनि, आज वर्षाैँपछि
तिमीलाई भेटेर म निकै खुशी छु । आज म सबै तिम्रै बारेमा सुन्न चाहान्छु जय
।’
उसले एक सासमै यति भन्न भ्यायो । म त उसको भूमिगत जीवनका बारेमा जान्न
चाहान्थे । शान्ति प्रक्रियापछि उसको क्यान्टोनमेन्टको बसाई बारेमा जान्न
चाहान्थे । उसले किन पढाईलाई चटक्कै माया मा¥यो ? किन उसले यो गाउँलाई
बिर्सियो ? र, मलाई । म सुन्न चाहान्थे उसकै मुखबाट । तर, किन ऊ भाग्न
खोज्दैछ मेरा सम्भावित प्रश्नहरुबाट ? र, किन लुकाउन खोज्दैछ आफूलाई मेरो
बारेमा खोतलेर । किन रित्तो ठान्दैछ ऊ आफूलाई । के आफैलाई रित्याउनका लागि
उसले बन्दुक समाएको हो ?
‘बन्दुक रहरले हैन बाध्यताले समाएको हुँ । मैले बन्दुक समाउनुको बाध्यताको
जानकार सायद मबाहेक अर्काे छैन । न मेलै आफ्नो जीवनलाई आफ्नै ईच्छाले जिउन
पाएँ । न तिमीजस्तो पढ्न पाएँ। उतीबेला बर्जुवा भनेर त्यागेको यही
शिक्षाको पनि केही महत्व रहेछ भन्ने बल्ल बुझ्दैछु जय । आखिर यो शिक्षा
बुर्जुवा छ भन्ने शिक्षा पनि त त्यही शिक्षाले दिएको थियो । हामीलाई
बुर्जुवा शिक्षा पढ्नुहुन्न भनेर सिकाउनेहरुका छोराछोरी नै यही बुर्जुवा
शिक्षा पढिरहेको देख्दा भने दिक्क लाग्छ जय ।’
उसले मेरो बारेमा सुन्छु भन्दा भन्दैपनि आफ्ना बारेमा कुरा शुरु गरिसकेको छ
। आखिर खिल नफालुन्जेल दुखाई कहाँ कम हुन्छ र घाउको ? फेरी म त उसको
बाल्यकालको सबैभन्दा मिल्ने साथी पो त । उसको प्यारो बालसखा । आफ्नो
मान्छेसँग मनको भारी बिसाउँदा मन कम्ता हलुङगो हुन्न । सायद यस्तै सोच्यो
होला उसले पनि । कति राम्रा काम गरियो उसँग लागेर कति नराम्रा काम गरियो,
उसैको संगतले ।
‘एकदिन हेडसर नभएको मौका पारी स्कुलमा टाईगर ब्याट्रीको टुप्पामा रहेको
स्टिल झिकेर त्यसमा सलाईको काँटी भरेर पड्काएको याद पनि ताजै छ अहिलेसम्म ।
कति उट्पाटयाङ गर्न मन लाग्थ्यो त्यो बेला । घरमा दाईहरुले बनाएको देखेर
हामीले त्यस्तो गरेका थियौँ । दाईहरुले कोबाट सिके हुन्नी ? के
माओवादीहरुबाट सिकेका हुन त्यसो गर्न ? मैले दाईहरुलाई कहिल्यै सोधिन यस
विषयमा । कक्षाकोठाको बाहिरपट्टि पेटीमा ल्याएर हाम्रो ‘हाते बम’ पडकाउँदा
कम्ति ठूलो आवाज आएको थिएन । मैले त पहिलेनै नै कानमा औला राखेर बसेको थिएँ
। र, ढुङगाले त्यसलाई रमेशले नै हिर्काएको थियो ।
माओवादीले स्कुलमा बम हान्यो भन्ने ठानेर हाम्रो स्कुलका सहयोगिले कट्टुमै
तुरुक्क पारेका थिए रे त्यतिबेला । पछि हामीले नै त्यस्तो उट्पट्याङ गरेको
थाहा पाएर बेसरी हपारे । हेडसरलाई भनेर कुटन लगाउँछु भनेर धम्क्याए ।
हेडसरको नाम लिने बित्तिकै कट्टुमा तुक्र्याउने पालो हाम्रो । उट्पट्याङ
पनि कस्तो ? उतिबेला स्कुल नजिकै आर्मी आएको भए हामीलाई माओवादी भन्न के
बेर ? के थाहा हामी मारिनपनि सक्थ्यौँ । सम्झिने हो भने अहिले पनि डरले
मुटु काँप्छ ।
अघिल्लो दिनको घटनाले भोलीपल्ट स्कुल जान कम्ति डर लागेन । बिरामी भएको
बहाना बनाएर स्कुलमा विदा लेखेर पठाएँ । विदा लेखेर पठाउने हो भने ‘गयल फि’
पनि तिर्न पर्थेन र स्कुल किन नआएको भनेर हेडसरको कुटाई पनि भेट्नुपर्थेन ।
म बिरामी छ कि छैन भनेर ‘चेक गर्न’ सरहरु मेरो घरमा आउने कुरा पनि हुन्थेन
। त्यसदिन बिचरा रमेशलाई हेडसरले दिनभर मुर्गा बनाएर स्कुलको चौरभरी
डुलाएर लठ्ठिले चाक र ढाडमा हिर्कानुभएको थियो रे ।
साँझ मात्र रमेशले मेरो घरमा आएर यो कुरा भनेको हो । धन्न त्यो दिन स्कुल
नगएर बचियो । भोलीपल्ट स्कुलमा हेडसर आउनुभएन । अर्काे दिन सायद उहाँको रिस
अलि कम भएको हुँदो हो, मलाई कार्यालयमा बोलाएर ५० पटक उठबस गराएर दुई
लठ्ठि हिर्काउनुभयो । सहेर बसे । रमेशले जस्तो न त मैले मुर्गा नै
बन्नुप¥यो, न त बेन्चमा बस्नै नसक्ने गरी चाकमा कुटाई भेट्नुप¥यो ।
‘अब यस्तो कहिल्यै गर्दिन सर ।’ यत्ति भनेर म फुत्त बाहिर निस्कें ।
...
‘पाँच वर्ष क्यान्टोनमेन्टका पट्यारीला दिनहरु सम्झिदा झनै दिक्क लाग्छ ।
कहिलेकाँही त यस्तो लाग्छ, अहिले यसरी घर न घाटको हुुनभन्दा बरु लडाईमा
‘सहिद’ हुन सकेको भए जाती हुन्थ्यो । कम्तिमा सहिदको लिस्टमा मेरो नाम पनि
हुन्थ्यो । केही नभएपनि वर्षमा एकचोटी त सम्झिदा हुन । कमसेकम यो स्थिति त
भोग्नुपर्ने थिएन । मान्छेले समयलाई चिन्न नसक्नु नै मुर्खता रहेछ जय ।
उतिबेला क्रान्ति सफल बनाउने, राज्यसत्ता परिवर्तन गर्ने, सबैमा समानता
ल्याउने नारा लगाउँदै कापीकिताब बोक्ने झोलामा बम र बारुद बोकियो । कलम
समाउने हातले बन्दुक समातियो । सँधै बन्दुकको ब्यारेलले दुश्मनलाई निशाना
बनाइयो । कलम समाउने औँला सँधै बन्दुकको ट्रिगरमै हुन्थ्यो । संगैको
साथीलाई तातो गोली लागेर भलभली रगत बग्दा पनि प्रत्याक्रमणमै व्यस्त रह्यिो
। के त्यो ठाउँमा तिमी भएको भए म तिमीलाई छोडेर जान सक्थे होला जय ?’
यो कस्तो प्रश्न गर्दैछ रमेश उर्फ संगिन ? प्रेम र युद्धमा सबै कुरा जायज
हुन्छन भन्ने सुनेको छु । के थाहा त्यो अवस्थामा आफ्नो जीवन रक्षाका लागि
मलाई छोडेर जान पनि त सक्थ्यो ऊ । तर, रमेशको यो प्रश्नले लाग्यो, उसले
मेरो माया र आत्मियतालाई अझै बिर्सेको रै’नछ । खै किन हो किन के सम्झेर
अनायशै तरक्क आँखाशाट आँशु खसे । साला यो मन भन्ने पनि यस्तै छ । ऊ पनि त
रुँला रुँला झै भएको छ ।
‘पार्टी शान्ति प्रक्रियामा आएपछि मैले घर फर्किन चाहेको थिएँ । तर,
हेडक्वाटरले मानेन । कति साथीहरु त भागे पनि । मलाई भाग्ने आँट आएन ।
त्यत्रो वर्ष पार्टीको लागि भनेर जीवनलाई तरवारको धारमा राखियो । पार्टीका
लागि के के गरिएन ? सबैभन्दा ठूलो कुरा, यत्रो समय पार्टीका लागि दिएपछि
एउटा पूर्णकालिन सिपाही हुनुको नाताले मैले त्यसरी भाग्न हुन्थेन पनि । जे
भएपनि लगानि छ पार्टीमा, यही सोचेर बसियो । तर, अहिले आएर सब व्यर्थ मात्र
लाग्छ । केही सीमित व्यक्तिको स्वार्थले पार्टी चलेको देख्दा दिक्क लाग्छ ।
पार्टी फुटेकोप्रति पनि पटक्कै चित्त बुझेको छैन मेरो ।’
साँझको चिसो सिरेटोसँगै उपनि बगेको आफ्नो विगतमा र सम्झिदैछ आफ्नो चिसो विगत ।
‘पार्टीमा लागेर मैले क्षम्य नहुने गल्ती गरेको छु जय । भन्न मिल्ला
नमिल्ला । कालिकोटमा सडक खन्न गएका सेनालाई आक्रमण गर्ने बेला म पनि थिएँ ।
हाम्रो धेरै मोर्चामध्ये प्लाटुन कमाण्डरले नेतृत्व गरेको मोर्चामा थिएँ म
। सेनाको एकजना जवानले आत्मसर्पण गर्दागर्दै पनि कमाण्डरको निर्देशनले
मैले उसको छातीमा बन्दुक तेस्र्याएँ । सेता दाँत देखाउँदै ऊ मेरै अगाडि
गर्लम्म ढल्यो । यस्ता घटना त कति भए कति । कतिलाई मन नहुँदा नहुँदै पनि
पार्टीको निर्देशनमा विद्युतिय धरापमा पारियो । तिमी आफै भन त जय, के म
माफि माग्न लायक छु ?’
ऊ आफूलाई बचाउने प्रयत्न गर्दैछ– ‘हुन त यसमा मेरो गल्ति नै के छ र ?
पार्टीले र मोर्चाले अह्राएको काम पूरा गरेको न हुँ । चालकले जता मोड्यो
उतै गुड्ने त हो नि गाडी । म निर्धक्क भन्न सक्छु । उतिबेला दुश्मन
देख्नेहरुसँग अहिले हाम्रा नेता र हाम्रा कमाण्डरहरुले हारेका छन् । सायद म
पनि समायोजनमा गएको भए हारेकै ठहरिन्थ्यो । अहिले उनीहरुकै मोर्चामा आवद्ध
हुनलाई किन हिजो दुश्मन ठानियो ? म गुमनाम छु ।’
धेरै बोलिरहने मान्छे आज म चुप्प छु । कहिलेकाँही स्रोता बन्नपनि
सक्नुपर्छ । मलाई कसैले यस्तै भनेको थियो । त्यही भएर त सुनिरहेको छु मेरो
साथीलाई मानौ उसको विगतको एउटा साक्षी म पनि थिएँ ।
‘क्यान्टोनमेन्टमा बस्दाखेरी म जस्ता केही साथीहरुलाई हेर्ने दृष्टिकोणपनि
केही फरक भयो । जसले पार्टीकै लागि भन्दै अहोरात्र खटिरह्यौँ । पार्टीको
निर्देशनलाई कहिल्यै ईन्कार गरेनौँ । जसले, डिभिजन कमाण्डर र पार्टीका कुनै
नेताहरुको चाकडी गरेनौँ । तर, यो ईमान्दारीताले काम गर्दाे रहेनछ जय ।
जसले चाकडी गरे उनीहरु कमाण्डर र नेताको विश्वास पात्र भए । अरु त अरु,
शान्तिप्रक्रियापछि क्यान्टोनमेन्टमा नयाँ भर्ना गरिएका व्यक्तिहरुको जति
पनि हाम्रो हैसियत राखिएन । कहाँ हामी रातदिन युद्ध लडेर आएका । मृत्युलाई
जितेर आएकार विर यौद्धाहरु । कहाँ शान्ति स्थापनापछि आएका ‘चैते’ सिपाहीहरु
। हाय !
अन्ततः म जस्ता केही साथीहरु संयुक्त राष्ट्र संघीय मिशन (अनमिन) को
प्रमाणिकरणमा षड्यन्त्रपूर्वक परेनौँ । हाम्रो रगत र पसिनाको अवमूल्यन
गरियो । कोही साथीहरु अहिले खाडी मुलुक छिरेका छन् । कोही पार्टी परिवर्तन
गरेर अर्काे लाईनमा लागेका छन् । र म, न खाडी जाने ऋण खोज्न सके, न
प्रमाणिकरणमा परे । आखिर मलाई पत्याउँछ र कसले ? रह्यो पार्टी परिर्वतनकोे
कुरा । जुन पार्टीमा जीवनको प्रवाह नगरी लडियो, त्यही पार्टीले वेवास्ता
गरेपछि पार्टी परिर्वतन गर्नुको कुनै तुक देख्दिन म । अब क्रान्तिका नाममा
भ्रम फैलाउने कुनै पार्टी मेरो आफ्ना हुने छैन जय ।’
‘के उसो भए क्रान्ति भनेको झुटको खेती मात्र हो त संगिन ?’ मलाई यो प्रश्न
सोधौँ सोधौँ नलागेको होईन । तर सोधिन । किनकी आज मलाई विशुद्ध स्रोता
बन्नुछ ।
‘आमा बित्दा समेत घरमा आउन पाइनँ । बुवाको मुख देख्नै नपाएको मैले आमाको
अन्तिम अनुहार पनि देख्न पाइनँ । गाउँमा ‘दुश्मनको सेल्टर’ छ भन्ने थाहा
हुँदाहुँदै पार्टीले पठाउने कुरा पनि भएन । मेरी आमा जसले मलाई डाक्टर
बनाउने सपना देख्नुभएको थियो । जसले, आफू आधा नाङ्गो रहेर, आधा भोको रहेर
मलाई पढ्न पठाउनुभयो । जसले, मलाई आफ्नो भविष्य ठान्नुभयो उनै आमाको अन्तिम
अनुहार पनि हेर्न पाइनँ । कति मायालु र हँसिली हुनुहुन्थ्यो मेरी आमा । के
अन्तिम अवस्थामा पनि उहाँको ओठमा उस्तै हाँसो हुँदो हो ?’
...
कुरा गर्दै गर्दा गिलासको चिसा पनि सेलाईसकेछ । बन्दुक बोक्नेहरु कठोर
हुन्छन भन्ने बुझेको मलाई गलत सावित गरिदियो मेरै साथीले । यति भावनामा
बग्न सक्ने, यति कोमल मन भएको मेरो साथीले मान्छे मारेको हो भनेर म कसरी
पत्याउँ ? सायद, पस्थिीतिले उसलाई कठोर बन्न सिकायो र कोमल पनि । आखिर जीवन
भनेकै परिस्थितीको दास त रै’छ नि ।
जब आमाको कुरा आयो ऊ बोल्न सकिरहेको छैन । बोली फुटे पो बोल्नु । बोल्न
खोज्यो मन भक्कानिन खोज्छ । आँखाका कुना कुनामा आँशु रसाईरहेका छन् ।
एकपल्ट चोरेर मैले अनुहार हेरें।
साँझ अबेर भईसकेको छ । ऊ भोली बिहानै शहर फर्किने रे । बिहे गरेको दुई
वर्ष भएछ । छोरी नै भईसकिछ पाँच महिनाकी । उतै सानो रक्सी पसल (कोल्ड
स्टोर) खोलेर बसेको रैछ । आफूसँग पैसा भए पो ! श्रीमतिसँग भएको गरगहना
बेचेको तथा क्यान्टोनमेन्टमा हुँदा बचाएर जम्मा गरेको थोरै पैसाले कोल्ड
स्टोर चलाएर बसेको रैछ ।
‘छोरो बाँचेर आयो भने मेरो नामको जिउनी उसैलाई दिनु’ उसकी आमाले मर्ने
बेला भनेकि थिईन रे । त्यही जग्गा विक्रि गर्न भनि ऊ आएको रहेछ । अचेल सबै
शहर केन्द्रीत छन्, गाउँको पाखोबारी कसले किनिदिन्छ र बेचोस बिचरो । रित्तै
फर्कैदैछ ।
छुट्टिने बेलामा मैले सोधे, ‘के म तिम्रो भोगाईलाई कथामा उतारुँ संगिन ?’
उसले यत्ति भन्यो, ‘तिम्रो बिचार ।’
सेतोपाटीवाट


0 comments
तपाईंको प्रतिकृया