Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मधेसी नेताहरुद्धारा सडक संघर्ष चर्काउने चेतावनी

 काठमाडौ, १५ मंसिर  – मधेसी दलका नेताहरुले मधेसको मुद्दालाई सम्बोधन नगरी संविधान बनाउन खोजिए सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानसभामा गणितको खेलबाट मधेसको मुद्दा स्थापित हुन नसक्ने बताए । मधेसी पत्रकार संघद्वारा शनिबार राजधानीमा आयोजित दोस्रो संविधानसभा र मधेसका मुद्दा विषयक अन्तर्क्रियामा उनले परिवर्तनका लागि संघर्ष गर्ने र परिवर्तन चाहनेहरु चुनावी परिणामबाट पछि परेको यथार्थ भएको भन्दै लडाइँ र संघर्षमा कहिले काँही हुने तलमाथिले निराश हुन नहुने उल्लेख गरे ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुसंग सडक संघर्षको ‘प्लेटर्फम’ सुरक्षित भएको बताए । संघीयता पक्षधरहरुले संविधानसभामाथि दवाब बनाइराख्नुपर्ने उनको भनाई थियो । संविधानसभामा केही सिट घट्दैमा चिन्तित हुन नहुने भन्दै उनले चुनाव हारेपनि आफूहरु विचलित नभएको बताए ।
उनले अस्वभाविक परिणाम र चुनावपछि मतपेटिका राजनीतिक दलको रोहवरमा नराखी घण्टौं वा रातभरि सुरक्षा निकायले राख्नुले शंका उत्पन्न हुनु स्वभाविक भएको बताए । शंकाको निवारण निष्पक्ष छानविन गराई सरकार र निर्वाचन आयोगले गर्नुपर्ने उनको भनाई थियो ।
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आगामी दिनमा सदनभन्दा पनि सडक संघर्षलाई रोज्नुपर्ने बताए । उनले मुद्दा कहिल्यै मर्न नसक्ने भन्दै मुद्दालाई हार्न नदिन सबै सजग रहनुपर्ने बताए । संघका अध्यक्ष कुमार विवेकानन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार सिताराम अग्रहरी र राजनीतिकशास्त्रका प्रध्यापक विजयकान्त लाल कर्णले मधेसी दलले चुनावमा पराजय भोग्नुपरेको विभिन्न कारणहरुबारे विश्लेषण गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया