Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कुस्ती भिडन्त हेर्न दर्शकको भीड

बुटवल २४ मंसिर । भैरहवामा जारी तेस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलाको मुख्य आकर्षण कुस्ती प्रतियोगिता बनेको छ ।
सोमबारदेखि  महोत्सव परिसरमा शुरु भएको कुस्ती भीडन्त हेर्न भैरहवा र आसपासबाट ठूलो संख्यामा दर्शकहरु सिद्धार्थ रंगशालामा ओइरिएका थिए । दुई पहलमान  बीचको कुस्ती भीडन्तको बीच बीचमा दर्शकले मन परेको खेलाडीको पक्षमा हुटिङ गर्दा र भीड उत्तेजित हुदा सुरक्षाकर्मीलाई नियन्त्रण गर्न हम्मे परेको थियो ।
सोमबार दिउंसो महोत्सव स्थलको एक छेउमा तयार पारिएको ३ फिट अग्लो माटोको थुम्कोमा  महोत्सवका संयोजक मनिषकुमार जोशी र कुस्ती दंगलका संयोजक करुणानिधी त्रिपाठीले संयुक्त रुपमा कुस्तीको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा ३ जना भारतीय कुस्तीबाजलाई लगातार पछार्दै नेपाली मुलका मध्यप्रदेश ग्वालियरका शंकर थापाले वर्चश्व जमाए  ।
शंकर थापाले भारत हरियानाका असोक, उनका गुरु ज्वालासिंह र  विक्कीलाई हराउदै ह्याट्रिक गरेर दर्शकको वाहवाही बटुले । दाङ पुख्र्यौली घर भएका थापाले आफू भन्दा बडेमानका भारतीय पहलमानलाई एकपछि अर्को गर्दै पछार्दा उपस्थित दर्शकले सबै हुटिंग गरेर  महोल तताए ।
सबै भीडन्त जितेका शंकरले दर्शकबाट नगद इनाम पनि प्रशस्तै पाए । खेल जितेपछि दर्शकले आफूखुशी नगदसंगै स्याबासी दिए । दर्शकहरुबाट मात्रै शंकरले करिब १५ हजार इनाम पाएको बताए ।
जतिसुकै मुक्का हानेर ढलाए पनि विपक्षीको शरीरको कम्मर मुनिको भागलाई जमिनमा छुवाउन नसके खेलको नतिजा नआउने ज्यादै चाख लाग्दो यो खेल जति हे¥यो उति हेरुं हेरुं लागेको कुस्ती भडिन्त हेर्न उपस्थित प्राध्यापक वेकुण्ड पाण्डेले बताए ।   ‘ज्यादै रमाइलो हुन्छ भन्ने सुनेर यो खेल हेर्नकै बुटवलबाट आएको हुं–पाण्डेले भने ।
सोमबारै भएको अर्को कुस्ती भीडन्तमा नवलपरासीका बैजनाथ चौधरीले भारतका विरु पहलवानलाई हराए भने गोरखपुरका रामु यादवले कानपुरका गुड्डुलाई पराजित गरे । नवलपरासीका  राजु थापाले  भारत हरियानाका लालजी पहलवानलाई हराए ।
लोप हुन लागेको नेपालको तराई मधेशको परम्परागत खेललाई संरक्षण गर्न महोत्सवमा समावेश गरेको आयोजक संस्थाका अध्यक्ष मनिष जोशीले बताए ।   
सोमबार शुरु भई बुत्रबारसम्म चल्ने कुस्तीमा पुरुषतर्फ नेपाल र भारतका गरी करिब ६० जना र महिलातर्फ १० जनाले भाग लिएका कुस्ती दंगल व्यवस्थापन उपसमिति संयोजक करुणानिधि त्रिपाठीले जानकारी दिए ।
मंसिर २१ गतेदेखि सन्चालन भएको महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कुस्ती, नयां नयां प्रविधिका स्टल,बाल उद्यान,पिङ, सर्कस आदि आकर्षणका कारण अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको सचिवालय संयोजक नारायण भण्डारीले बताए ।

0 comments

तपाईंको प्रतिकृया