Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चापपानी गाविस पूर्ण साक्षर घोषित

पाल्पा, माघ ८ । उत्तर पाल्पाको चापपानी गाउँ बिकास समितिलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको छ ।

बुधवार एक भब्य समारोहका बीच उक्त घोषणा गरिएको हो । यो सँगै चापपानी गाविस पूर्ण खोपयुक्त, खुल्ला दिसामुक्त र पूर्ण साक्षर गाविस भएको छ । यसरी तीनवटै घोषणा गर्नेमा चापपानी गाविस जिल्लामै पहिलो बनेको छ ।  स्थानीय बिकास अधिकारी दीर्घ बहादुर पोखरेलले चापपानी गाविस पछिल्लो समय जिल्लाकै नमुना गाविसको रुपमा अगाडि आएको भन्दै बधाई ज्ञापन गरे। उनले चापपानीको पाठ अरु गाविसहरुले समेत सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले मदनपोखरा पछि चापपानी गाविसले पूर्ण साक्षर गाविस घोषणा गर्न सफल भएको भन्दै बधाई ज्ञापन गरे । सोही अवसरमा जिल्ला शिक्षा कार्यालयका उपसचिव दीपेन्द्र ढकालले चापपानी गाविसमा १५ देखि ६० वर्ष उमेर समूह अन्तरगत ९९.३२ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक पेश गरे ।
कार्यक्रममा साक्षर चापपानी घोषणा गर्ने सम्मको अवस्थामा ल्याइपुर्याउनका लागि सहयोग गर्ने संघसंस्था तथा ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै गाउँ बिकास समितिका गतिबिधिहरुलाई संचारमाध्यममा पुर्याउन सहयोग गरेको भन्दै पाल्पा समाचारपत्र साप्ताहिकका सम्पादक तथा गोरखापत्र दैनिकका समाचारदाता यज्ञमूर्ति तिमिल्सिना र रेडियो मदनपोखराका प्रतिनिधि भोजराज तिमिल्सिनालाई समेत सम्मानपत्र र ढाकाटोपीले सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण बश्याल, एमाले जिल्ला सदस्य भेषराज तिमिल्सिना, एमाओवादी जिल्ला सदस्य कृष्ण भुसाल, छविलाल ढकाल, रणप्रताप खाँण, नर बहादुर राना, टेक बहादुर बिक, लीलाधर बश्याल सहित गाविस स्तरीय बिभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले बोलेका थिए ।


0 comments

तपाईंको प्रतिकृया