Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लुम्बिनीमा आउने पर्यटन घटे

लुम्बिनी २१ पुस। विश्व शान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने तेस्रो देशका पर्यटकको सङ्ख्यामा कमी आएको छ ।
राहदानीवाहक पर्यटकको सङ्ख्यामा गिरावट आएपछि यस क्षेत्रको समग्र पर्यटन व्यवसाय प्रभावित भएको छ । लुम्बिनीलाई विश्व पर्यटनको प्रमुख गन्तव्य बनाइरहने भनेर भनिरहेको सन्दर्भमा तेस्रो मुलुकका पर्यटकहरुको आगमनमा चाहिँ गिरावट आउनु राम्रो लक्षण नभएको पर्यटनविद् प्राध्यापक डा। गितु गिरीको भनाइ छ ।

‘सङ्ख्यात्मक रुपमा भारतीय र नेपाली पर्यटकको सङ्ख्या वृद्धि भए तापनि तेस्रो मुलुकको सङ्ख्या घटेको छ । यसको मूलभूत कारण विश्व पर्यटन बजारमा लुम्बिनीको अझै प्रचारप्रसार राम्रो नभएर नै हो । यसतर्फ लुम्बिनी विकास कोष र राज्यले ध्यान दिनुपर्दछ,’ पर्यटनविद् प्राध्यापक गिरीले भने ।

बोधगयाको घटनाले पर्यटक घटे

भारतको बोधगयामा भएको घटनाका कारण पनि पर्यटक आवागमन घटेको लुम्बिनी विकाष कोषका सदस्यसचिव अजितमान तामाङले बताए । उक्त घटनाले लुम्बिनी भ्रमण गर्न चाहने श्रीलङ्काली र बर्मेली पर्यटकलाई प्रभावित पारेको तामाङको भनाई छ । गत असारमा बोधगयमामा श्रींखलाबद्ध बम विष्फोट भएको थियो ।

कोषका प्रवक्तासमेत रहेका तामाङले लुम्बिनी घुम्न आउने मुख्यगरी श्रीलङ्का, बर्मा र जापानका पर्यटक घटेको बताउनुभयो । अन्य देशका नागरिकको लुम्बिनी भ्रमण गर्ने तथा लुम्बिनी बसाइ सामन्य गिरावट आएको छ ।

यसरी आन्तरिक पर्यटक र भारतीय पर्यटकको सङ्ख्यामा आएको वृद्धिले पर्यटनको आन्तरिक बजारमा उत्साह थपिए तापनि यो विश्व पर्यटन बजारका लागि भने त्यति शुभ सङ्केत नभएको पर्यटन क्षेत्रका विश्लेषक बताउँछन् । आन्तरिक पर्यटक र भारतीय पर्यटक मुस्किलले एकाध दिनबाहेक लुम्बिनीमा बस्दैनन् जसका कारण लुम्बिनी उनीहरुका लागि ऐना मात्रै हो । आउँछन्, हेर्छन्, जान्छन् तर तेस्रो मुलुकका पर्यटक जो आउँछन् हेर्छन्, हप्तौँ बस्छन् र जादाँजाँदै लुम्बिनीका लागि सहयोग पनि गर्दछन् ।

सन् २०१३ मा ३५ हजार ४ सय २६ जना श्रीलङ्कालीले लुम्बिनीको भ्रमण गरेका थिए जबकि अघिल्लो वर्ष सन् २०१२ मा ५२ हजार ५२ हजार ६ सय ७१ ले लुम्बिनीको भ्रमण गरेका थिए । कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार सन् २०१३ मा विश्वभरिका १ सय देशका नागरिकले लुम्बिनीको भ्रमण गरेका छन् । वर्ष २०१३ मा लुम्बिनीको भ्रमण गर्ने विदेशी पर्यटकहरुको सङ्ख्या एक लाख २५ हजार ४ सय ९२ रहेको छ ।

सन् २०१२ मा एक लाख ३६ हजार एक जनाले र सन् २०११ मा एक लाख २८ हजार २ सय ५९ जना तेस्रो मुलुकका नागरिकले लुम्बिनीको भ्रमण गरेको कोषका सूचना अधिकृत राईले जनाउनुभयो । यद्यपि आन्तरिक र भारतीय पर्यटकको आगमनमा वृद्धि भएकोप्रति सन्तोष जनाएको छ । सन् २०१३ को वर्षभरिको तथ्याङ्कलाई केलाउँदा लुम्बिनी भ्रमण गर्ने नेपालीको सङ्ख्या विगतका वर्षहरुमा भन्दा हृवात्तै बढेको छ । यसैगरी भारतीय पर्यटकहरु पनि विगतका वर्षमा भन्दा धेरै यस वर्ष लुम्बिनीको भ्रमण गरेका छन् ।

सरकारले लुम्बिनीमा विश्वका पर्यटकलाई आकषिर्त गर्ने ध्ययले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको थियो । अहिले पर्यटन दूरदृष्टि २०र२० चलिरहेको छ । कोषले पनि विभिन्न गतिविधि अगाडि बढाएको छ तर पनि तेस्रो मुलुकका पर्यटकको आगमनमा कमी आएको छ । रासस

0 comments

तपाईंको प्रतिकृया