Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
राजनीतिक सम्वाद समितिको सभापतिमा भट्टराईको उम्मेदवारी

काठमाडौं ११ बैशाख । संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापतिमा एमाओवादी नेता डा. बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै संविधान मस्यौदा समितिको सभापतिमा कांग्रेस महामन्त्री कृष्ण सिटौला र अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सभापतिमा एमाले सचिव विष्णु पौडेलको उम्मेदवारी गरेको छ । क्षमता अभिबृद्धि तथा स्रोत व्यवस्थापन समितिको सभापतिमा मधेसी जनअधिकार फोरमका लक्ष्मी चौधरीले उम्मेदवारी दिएकी छन् ।
कांग्रेस, एमाले र एमाओवादीबीच भएको बाँडफाँड अनुसार नै दलहरुले समिति सभापतिमा उम्मेदवारी दिएका हुन् । भट्टराईको प्रस्तावकमा कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का र समर्थकमा एमालेका सुरेन्द्र पाण्डे रहेका छन् । सम्वाद समितिको सभापतिमा सभासद रामकुमार राईले पनि उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा हरिचरण साह र समर्थकमा गोपाल दहित छन् ।
उम्मेदवारी दर्तापछि भट्टराईले सबैलाई सहमतिमा लिएर संविधान निर्माण प्रक्रिया अघि बढाउने बताएका छन् । संविधानसभाको सबैभन्दा शक्तिशाली समितिका रुपमा रहेको राजनीतिक सम्वाद समितिले संविधानका विवादित विषयमा सहमति गर्ने र संविधानसभा बाहिर रहेका शक्तिहरुसँग सम्वाद र सहमति गर्ने जिम्मेवारी दिएको छ ।
संविधानको मस्यौदा लेख्ने समितिको सभापतिमा उम्मेदवारी दिएका सिटौलाको प्रस्तावकमा एमालेका भानुभक्त ढकाल र समर्थक एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल रहेका छन् । यस्तै पौडेलको प्रस्तावकमा कांग्रेसका बलबहादुर केसी र समर्थकमा एमाओवादीका हरिबोल गजुरेल रहेका छन् । अभिलेख अध्ययन तथा निक्र्यौल समितिले अघिल्लो संविधानसभाले गरेका सहमति र विवादित विषयहरुको निक्र्यौल गर्ने जिम्मा पाएको छ ।
क्षमता अभिबृद्धि समितिको सभापतिमा उम्मेदवारी दिएकी चौधरीको समर्थकमा कांग्रेसका बद्री पाण्डे र समर्थकमा जयन्ती राई तथा सन्तकुमार दरार्इ रहेका छन् । यसैगरी नागरिक सम्बन्ध सुझाव समितिमा भने नेकपा संयुक्तकी प्रमिला राणाको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा एमालेकी ममता गिरी रहेकी छिन् भने समर्थकमा कांग्रेस मूख्य सचेतक चीनकाजी श्रेष्ठ रहेका छन् । पाँचवटै समितिको सभापतिको निर्वाचन भोलि हुँदैछ ।  भोलि साँझ ५ बजे चुनाव हुनेछ ।

0 comments

तपाईंको प्रतिकृया