पद खोज्नेहरु पार्टी छाड्नुस : प्रचण्ड
काठमाडौं, १३ बैशाख –एमाओवादीका अध्यक्ष प्रचण्डले पद खोज्ने पार्टीका नेताहरुलाई पार्टी छाडेर जान चेतावनी दिएका छन् ।
पदमात्र खोज्ने काम केही नगर्नेलाई थुपारेरे ठूलो पार्टी बनाउनु भन्दा सानै पार्टी ठीक हुने तर्क प्रचण्डको छ । ‘पार्टीमा बसेर सिन्को नभाच्ने र पदमात्र ठुलो खोज्नेहरु पार्टीमा भएकाले समस्या भइरहेको छ,’ एमाओवादी काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले भने,‘काम नगर्ने पदमात्र खोज्नेहरु पार्टी छाडेर गए पनि हुन्छ ।उनले ले काम नलाग्ने मान्छेहरु थुपारेर अघि बढ्न नसकिने टिप्पणी गरे ।
पार्टीमा स्थायी, पोलिटव्यूरो र केन्द्रीय समितिमा ठाउँ खोज्नेहरुलाई पार्टीमा राख्नुको कुनै औचित्य नरहेको टिप्पणी गर्दै पद खोज्नेहरुलाई अन्य पार्टीमा जान उनले सुझाव दिए ।
प्रचण्डले नेताहरुमा देखिएको गलत कार्यशैली नसुध्रिए पार्टी बिघटन हुने भन्दै पार्टीलाई बिघटनबाट जोगाउन रूपान्तरण आवश्यक रहेको बताए । प्रचण्डले हेटौंडा महाधिवेशनको कार्यदिशा कार्यान्वयन गर्न नसक्दा पार्टी कमजोर भएकाले त्यसलार्य कार्यान्वयन गरेर अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
प्रचण्डले पार्टीलाई विघटनबाट बचाउन रुपान्तरण नै एकमात्र विकल्प भएको ठोकुवा गर्दै पार्टीमा देखिएको गुटबन्दीको अन्त्य हुनुपर्ने विचार राखे ।
बरिष्ठ नेता बाबुराम भट्टराईले कार्यदिशाले मात्रै पार्टी नचल्ने भन्दै शैली विकासले मात्र पार्टीलाई बिघटनबाट रोक्न सक्ने दावी गरे । उनले क्रान्तिकारी नयाँ शक्तिको आवश्यकता पनि औल्याए । ‘पार्टीमा क्रान्तिकारी नयाँ शक्तिको आवश्यकता छ’,भट्टराईले अगाडि भने आगामी राष्ट्रिय सम्मेलनमा यही बिषयमा बहस गरेर अगाडि बढ्नेछौं ।’ पार्टीका अर्का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वर्गिय मुद्दाबाट टाढिएकाले पार्टीले क्षति व्यहोरेको टिप्पणी गरे । उनले पार्टीमा पछि प्रबेश गर्नेहरुलाई भेदभाव गरिएको भन्दै भेदभाव नगरी मुल्याङ्कन गरिनु पर्ने आवश्यकता औल्याए ।


0 comments
तपाईंको प्रतिकृया