हिम पहिरोमा परी १५ जनाको मृत्यु
![]() |
| सगरमाथाको आधारशिविरबाट पहिलो क्याम्पमा उक्लने क्रममा शुक्रबार गएको हिमपहिरोमा पुरिएकाहरुको उद्दार गरिँदै । तस्वीरः रासस |
। सगरमाथा आधारशिविरबाट सेकेन्ड क्याम्प खडा गर्न सामानहरु लिएर गएका शेर्पाहरुको समूह हिमपहिरोमा परेको हो । मृतकहरु सबैजना भरिया बनेर गएका शेर्पाहरुसहितको समूह हो । हिमपहिरोमा परेका ४ जनलाई उद्दार गरिएको छ ।
हिमपहिरोमा परेकामध्ये अझै केही हराइरहेको उद्दारटोलीको अनुमान छ । आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत सुविर श्रेष्ठले ‘घटनास्थलबाट संकलित गरिएका १२ जनाको शवलाई आधारशिविरबाट खुम्जुङस्थित फेरुचे अस्पतालमा हेलीकोप्टरमार्फत ल्याइएको जानकारी दिए । हिमपहिरोमा परी मृत्यु हुनेहरुमा सोलुखुम्बुको नाम्चे गाविस थामेका आङछिरिङ शेर्पा, दोर्जी शेर्पा, तेन्जिङ छोर्तेल शेर्पा र मिङमार शेर्पा रहेका छन् ।
त्यसैगरी खुम्जुङका छिरिङवङछु शेर्पा र लाक्पा तेन्जिङ शेर्पाको पनि ज्यान गएको छ । हिमपहिरोमा परेर ताप्लेजुङका दोर्जी खत्रीको पनि निधन भएको छ ।
त्यस्तै सोलुखुम्बुकै पाङ्बोचेका वाङ्गीले शेर्पा र फेमदोर्जी शेर्पाको पनि हिमपहिरोमा परेर ज्यान गएको छ । त्यसैगरी संखुवासभाका फुर्तेम्बा शेर्पाको पनि हिमपहिरोमा परेर ज्यान गएको छ । शव फेला परेका अन्य दुईजनाको भने सनाखत हुन सकेको छैन ।
मौसमको खराबी घटनास्थलमा हिउँले च्यापिएको अवस्थामा रहेका अन्य तीनजनाको शव भने निकाल्न नसकिएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए । घटनास्थलमा तीब्रगतिमा हुरी चलेपछि दिउँसो ३ बजेबाट शनिबार विहानसम्मका लागि उद्धारकार्य स्थगित गरिएको छ ।
हिम पहिरोमा परी गम्भीर घाइते भएका चारजना मध्ये एकजनालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने तीनजनाको सोलुखुम्बुको नाम्चेमै उपचार भइरहेको छ ।
हिमपहिरोले निम्त्याएको विपत्तिपछि सगरमाथा आरोहणमा रहेका क्याम्प १ र आधारशिविरका करिब ७० वटा समूहका आरोही र सहयोगीहरु त्रसित भएका छन् ।


0 comments
तपाईंको प्रतिकृया