उपनिर्वाचन : कांग्रेसलाई नाफा, एमालेलाई घाटा
काठमाडौं ९ असार । संविधानसभा निर्वाचनमा एक सय ९६ सिट पाएको कांग्रेस उपचुनावबाट एक सिट नाफा गर्दै संविधानसभामा १९७ सिट बनाउन सफल भएको छ ।
कांग्रेस नेतृत्वको सत्ता साझेदार नेकपा एमालेलाई घाटा लागेको छ । अघिल्लो चुनावको परिणामबाट संविधानसभामा १७५ स्थानमा रहेको एमाले उपचुनावबाट एक सिट घाटा खाँदै १७४ स्थानमा झरेको छ । संविधानसभा उपनिर्वाचन भएका चार क्षेत्रमध्ये कांग्रेसले तीनवटामा जित हात पारेको हो । कांग्रेसले चितवन–४ र कैलाली–६ मा संविधानसभा चुनावको जितलाई उपचुनावमा निरन्तरता दिएको छ भने यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जितेको काठमाडौं २ लाई पनि आफ्नो पोल्टामा पारेको छ । एमालेले यसअघि जितेको काठमाडौं–२ गुमाउँदै बर्दिया–१ मा मात्र जितलाई जोगाएको छ ।
काठमाडौं–२ मा कांग्रेसका दीपक कुइँकेल १८ हजार २ सय मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका कृष्णगोपाल श्रेष्ठले १३ हजार ४ सय २१ मत प्राप्त गरे । तेस्रो स्थानमा एमाओवादीका लीलामणि पोखरेलले ४ हजार ६ सय ४ मत ल्याए ।
चितवन–४ मा कांग्रेसका रामकृष्ण घिमिरे २० हजार ३ सय १८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी पार्वती रावलले १७ हजार २ सय ७२ मत प्राप्त गरिन् । एमाओवादी उम्मेदवार खुसीराम पाख्रिनको पक्षमा ७ सय ८५ मत मात्र प्राप्त भयो । ४ मंसिरको चुनावमा यस क्षेत्रबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला निर्वाचित भएका थिए ।
कैलाली–६ मा पनि कांग्रेसकै पुष्करनाथ ओझा १४ हजार ७ सय ८४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९ सय ५९ मत ल्याए । राप्रपा नेपालका राजेश भण्डारीको पक्षमा ४ हजार ३ सय ६७ मत खस्यो । यसअघि यस क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका थिए ।
बर्दिया–१ मा एमालेका श्याम ढकाल १६ हजार ९ सय ९६ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व कांग्रेसका सोदे विष्टले ११ हजार ३ सय ३५ मत ल्याए । एमाओवादीका भवनकुमार थारूको पक्षमा ११ हजार ३१ मत खस्यो । यसअघि यस क्षेत्रबाट एमाले उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम निर्वाचित भएका थिए । ४ मंसिरको चुनावमा दुई–दुई क्षेत्रबाट निर्वाचित कोइराला, देउवा नेपाल र गौतमले एक–एक ठाउँ छाडेपछि उपचुनाव भएको हो ।

0 comments
तपाईंको प्रतिकृया