Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शासकीय स्वरुपमा छलफल: दलहरु आ–आफ्नै अडानमा

काठमाडौं ४ असार । संविधानसभामा जारीे शासकीय स्वरुप माथिको धारणा राख्नेक्रममा सभासदहरूले आ–आफ्नो दलीय अडान राखेका छन् । 
संविधानसभाको बुधबार बसेको बैठकमा सभासदरुले यस्तो धारणा राखेका हुन् । कांग्रेस सभासदहरूले संसदबाट निर्वाचित कार्यकारीणी अधिकार सहितको प्रधानमन्त्रीय शासन प्रणाली र आलंकारिक राष्ट्रपति हुने व्यवस्थाका पक्षमा धारणा राखेका छन् ।
एमालेका सभासदहरूले आलंकारिक राष्ट्रपति सहितको जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी अधिकारयुक्त प्रधानमन्त्रीय शासन व्यवस्थाको पक्षमा उभिएका छन् । एमाओवादी सभासदहरूले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी अधिकार सहितको राष्ट्रपतीय शासन व्यवस्थाको पक्षमा आफ्नो दलीय अडान राखेका छन् । संविधानसभामा चौथो ठुलो दल बनेको रापंपा नेपालका सभासदले भने संवैधानिक राजतन्त्रसहितको जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय शासन व्यवस्थाको पक्षमा वकालत गरेका छन् ।बुधबारमा शासकीय स्वरुप माथिको छलफलमा  कांग्रेस सभासद अर्जुन नरसिंह केसीले कुनै पनि शासन व्यवस्था आफैंमा राम्रो वा नराम्रो नहुने तर्क गर्दै नेपालको परिप्रेक्ष्यमा भने संसदबाट निर्वाचित कार्यकारिणी अधिकार सहितको परिमार्जित प्रधानमन्त्रीय शासन व्यवस्था नै उपयुक्त हुने धारणा राखेका छन् ।
एमालेका सभासद राजेन्द्र प्रसाद पाण्डेले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासनमा राष्ट्रपति निरंकुश बन्ने डर हुने भन्दै विविध जात–जाती, धर्म र संस्कृति भएको मुलुकमा सबैको समानुपातिक र समावेशी प्रतिनित्व हुन सक्ने एक मात्र शासन प्रणाली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री शासन प्रणाली भएको तर्क गरे ।
एमाओवादी सभासद हितराज पाण्डेले  नेपाली जनताको चाहना, आर्थिक सामाजिक रुपान्तरणको लागि पनि कार्यकारिणी अधिकार सहितको राष्ट्रपतीय शासन व्यवस्था ठिक हुने जिकिर गर्दै राष्ट्रपति शासनलाई पनि विभिन्न अंकुश लगाउन सकिने प्रावधान भएकाले निरंकुश बन्न नसक्ने बताएका छन् ।
राप्रपा नेपालका सभासद दिलनाथ गिरीले  नेपाललाई  सम्बृद्ध, विकसित, शान्त र पूर्ण लोकतान्त्रिक परिपाटी बसाल्ने हो भने संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र चाहिने स्पष्ट पारेका छन् ।

0 comments

तपाईंको प्रतिकृया