एमाले मतगणना : नेपाल प्यानलको अग्रता
काठमाडौं ३० असार। नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनाका लागि आधाभन्दा बढी मत गनिसक्दा माधवकुमार नेपालको प्यानलले अग्रता लिएको छ । हालसम्म १२ सय ९१ मत गणना भइसकेका छन् ।
बुथ नम्बर १,२ र ३ को १२ सय ९१ मतगणना गरिसक्दा नेपालले ६ सय ४१ र केपी ओलीले ५ सय ९३ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले जनाएको छ ।
पाँचै उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पनि नेपाल पक्षले अग्रता लिएको छ भने पाँच सचिवमध्ये ओली पक्षका प्रदीप ज्ञवाली बाहेक चारैजना नेपाल पक्षका अगाडि छन् ।
हालसम्म मेची, कोशी, सगरमाथा, जनकपुर, वागमती, उपत्यका, नारायणी, केन्द्रीय कमिटी, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय निकाय र भातृ संगठनहरुको मतगणना लगभग सकिएको छ ।
गण्डकी,, धौलागिरी, लुम्बिनी, राप्ती, भेरी, सेती, कर्णाली, महाकाली र प्रवासको मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अब करिव ८०० मत गन्न बाँकी छ ।
गण्डकी, लुम्बिनी, भेरी र राप्तीमा ओली पक्षले अग्रता लिने अपेक्षा गरेको छ भने सेती, महाकाली र कणरलीमा नेपाल पक्षले अग्रता लिने अपेक्षा गरिएको छ । मतगणनामा सहभागीका अनुसार अधिकांश मत प्यानलमा खसेका कारण जसले अध्यक्ष जित्छ केन्द्रीय कमिटीमा उनी प्यानलका अधिकांशले जित्ने अवस्था देखिएको छ । अब करीव ८ सय मत गन्न बाँकी छ ।


0 comments
तपाईंको प्रतिकृया