राष्ट्र बैंकले नगद मौज्दात बढायो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात सीआरआर बढाएको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि अनिवार्य नगद मौज्दात ६ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकका लागि ५ प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि ४ प्रतिशत कायम गरेको शुक्रबार राष्ट्र बैंकमा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. युवराज खतिवडाले जानकारी दिए । ग वर्गका वित्ती संस्थाको सीआरआर भने राष्ट्र बैंकले यथावत राखेको छ । गत वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकका लागि ५ प्रतिशत, विकास बैंकका लागि ४।५ प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि ४ प्रतिशत सीआरआर कायम गरेको थियो ।
राष्ट्र बैंकले वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्था कायमै भने मौद्रिक नीतिमा यथावत राखिएको छ । बैधानिक तरलता अनुपात ‘क’ वर्गका वाणिज्य बैंकका लागि १२ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकका लागि ९ प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि ८ प्रतिशत कायम छ ।
बैंक तथा वित्तीय संस्थाको मर्ज र एक्विजिशन नीतिलाई मौद्रिक नीतिले निरन्तरता दिएको छ । साथै, मर्जर र एक्विजिशनका लागि बैंक तथा वित्तीय संस्थाहरूलार्इ थप प्रोत्साहन समेत दिइने भएको छ ।
त्यस्तै, वाणिज्य बैँकहरूले २० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने व्यवस्थालार्इ पनि यथावत राखिएको छ । सरकारले बजेटमार्फत ल्याएका कार्यक्रमलार्इ सहयोग पुराउने गरी मौद्रिक नीति ल्याइएको गभर्नर डा। खतिवडाले बताए । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी पनि यथावत राखिएको छ ।


0 comments
तपाईंको प्रतिकृया