नायक श्रीकृष्ण श्रेष्ठको निधन
श्रीकृष्णका साथी एवं निर्देशक आकाश अधिकारीले श्रेष्ठको आइतबार बिहान ५ बजे दिल्लीको गंगाराम अस्पतालमा निधन भएको जानकारी दिएका छन् ।
‘डिप निमोनिया’का कारण उनको निधन भएको श्रेष्ठका दाजुले जानकारी दिएको आकाशले बताए ।
नायक श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्कासँग विवाह गरेर एक महिनाअघि हनिमुनका लागि सिमला पुगेका थिए । त्यसैबेला बिरामी भएका उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
चलचित्र ‘कोहिनुर’को प्रदर्शन छेकोमा नव–विवाहित जोडी भारत पुगेको थियो । भारत जाने क्रममा श्रीकृष्णले २ वर्षसम्म सन्तानको कुनै सोच नभएको सुनाएका थिए । तर, भारत गएलगतै उपचारका क्रममा डीप निमोनिया भएको खबरले दर्शक र सिने नगरीलाई चिन्तित तुल्यायो ।
वि।सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट करिअर अगाडि बढाएका हुन् ।
श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा दिएका श्रीकृष्ण निक्कै मिलनसार समेत मानिन्थे । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ अहिले हलमा लागिरहेको छ ।
एक महिना अगाडि अर्थात असार २३ गते नायिका स्वेता खड्कासँग बिहे गरेका श्रीकृष्ण त्यस लगतै दिल्ली पुगेका थिए । दिल्ली पुगेलगतै उनी बिरामी भएको खबर आएको थियो । सुख्खा खोकीले ग्रसित नायक श्रेष्ठलाई फोक्सोमा पानी जमेको बताइन्छ ।


0 comments
तपाईंको प्रतिकृया