आधा क्विन्टलको पगरी लगाउछन अवतार सिंह
पञ्जावीहरुको
लागि पगरी पहिचान नै हो । तर एकजना पञ्जाबीको पगरी भने विशेष छ । हुनत
उनको नामै विशेष छ । हो, अवतार सिंह मौनी नामका एक पञ्चाबीले ४५ किलो तौलको
पगरी लगाउने गरेका छन् ।
अवतार सिंह विश्वमा सबैभन्दा ठूलो तथा
गह्रौँ पगरी लगाउने मान्छे हुन् । उनको पगरीमा प्रयोग भएको कपडाको लम्बाइ
२१ सय १५ फुट छ । अर्थात् उनको पगरीको कपडाको लम्बाइलाई ओलम्पिक खेल
खेलाउने पौडी पोखरीसँग दाँज्ने हो भने १३ वटा पोखरीको लम्बाइ बराबर हुन्छ ।
अवतार
सिंह ६० वर्षका छन् र पछिल्लो १६ वर्षदेखि उनले हरेक दिन यो पगरी पहिरिने
गरेका छन् । ४५ किलोको पगरी टाउकोमा लगाउँदा पनि उनलाई भारी महसुस हुँदैन ।
उल्टै त्यो पगरी नलगाएको बेला उनलाई केही अपूरो भएजस्तो लाग्छ । पगरी
नलगाइकन हिँड्न थाले भने उनको खुट्टा लरखराउँछन् र ठीक ठाउँमा टेक्दैनन् ।
जब पगरी लगाउँछन् तब ठमठमी हिँड्छन् । उनलाई यो पगरी फुकालेर पूरै लगाउनै
झण्डै ६ घण्टा लाग्छ ।
अवतार सिंह भारतको पञ्जाबस्थित पटियालाका
बासिन्दा हुन् । यदि उनले दाबी गरे अनुसार उनको पगरीको लम्बाइ २१ सय १५ फुट
भएको प्रमाणित भएमा उनी विश्वमा सबैभन्दा लामो पगरी लगाउने मानिसको रुपमा
गिनिज बुकमा अटाउनेछन् । अहिलेसम्म मेजर सिंह नामका व्यक्ति विश्वमा
सबैभन्दा लामो पगरी लगाएका मान्छेको रुपमा गिनिज बुकमा छन् । उनको पगरीको
लम्बाइ १३ सय १२ फुट थियो ।
अवतार सिंहको पगरीमा भएको कपडाको तौल ३० किलो र गहनाको तौल १५ किलो गरी जम्मा ४५ किलो छ ।
उनले
टाउकोमा गह्रौँ पगरी मात्र होइन हातमा पनि धेरै गह्रौँ चुराहरु लगाउने
गरेका छन्, जसको तौल नै झण्डै ४० किलो छ । ठूलो पगरीको कारण घरमा ढोकाबाट
छिर्न पनि मुस्किल हुन्छ । कारमा त उनी छिनै सक्दैनन् । त्यसैले यताउति
जानु पर्यो भने मोटरसाइकलमा चढेर जाने गरेका छन् ।


0 comments
तपाईंको प्रतिकृया