Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिरोले सिद्धार्थ राजमार्ग जोखिममा

महेन्द्र थापा
बुटवल । सिद्धार्थ राजमार्गको वुटवल–तानसेन खण्ड अन्तर्गत दोभानस्थित तिनाउ जलविद्युत पावर हाउस क्षेत्रमा राजमार्ग जोखिममा छ । साथै पाल्पाको दोभान गाविसतर्फ लगिएको विद्युतको प्रसारण लाइन र पोल समेत ढल्ने अवस्थामा छ ।
तिनाउ जलविद्युतका कर्मचारी पूर्णप्रसाद ज्ञवालीले एकमहिनादेखि विस्तारै यो क्षेत्रमा पहिरो झरीरहेको देखेको बताए । तिनाउ नदि किनार एवं राजमार्ग पेटीको चुरे पहाड वगेको हो । पहिरोको रुपमा खसेका ठूल्ठूला ढुंगा नदि किनारमा थप्रिएका छन् ।
यो क्षेत्र हिउँद वर्षा दुबै मौसममा ढुंगा सहितको पहिरोको लागी जोखीम क्षेत्र हो । त्यसैले अहिले झरेको पहिरो विस्तार भएमा राजमार्ग नष्ट हुनुको साथै नदि थुनिने खतरा समेत उत्तिकै देखिन्छ । यस क्षेत्रमा ढुंगा सहितको पहिरो झरेर ठूलो धनजनको क्षति भएका घटनाहरु छन् ।
२०६१ साल असोज २२ गते शुक्रबार राती ८ बजे राजमार्ग माथीबाट झरेको ढुंगा सहितको पहिरोले बस र ट्रक पुरिएर बसका ११ यात्रु मरेका थिए । पहिरोले नदि थुनिएका घटना पनि छन् । २०२७ सालमा वाढी र पहिरोले तिनाउ थुनिएर विस्फोट हुँदा ९० जना मानिस बगाएको पूराना बुढापाकाहरु बताउँछन् ।
यो क्षेत्रमा चुरे पहाडबाट झर्ने पहिरोले पटकपटक धनजनको क्षति हुनुको साथै यातायात अबरुद्ध हुने गरेको छ । यद्यपि यसको दिगो समाधानको लागी सरकारले पहल गरेको छैन । बुटवलदेखि झुम्सासम्म सुरङमार्ग बनाउने वा सडक परिवर्तन गरी बुटवलदेखि नुवाकोटहुँदै झुम्सा निकाल्ने वा देवदहको चरङ्गे क्षेत्रबाट राजमार्ग निकाल्ने वा सो क्षेत्रका चलायमान ढुंगाहरु हटाई समाधान खोज्ने विकल्पका कुरा भएपनि काम भएको छैन ।
सिद्धार्थ राजमार्ग रुपन्देहीको वेलहियाबाट शुरुभई कास्कीको पोखरामा टुङ्गिन्छ । यो मार्ग अवरुद्ध भएमा लुम्विनी, गण्डकी र धौलागीरीको जनजिवन अस्तव्यस्त हुन्छ ।
सडक कार्यालय पाल्पाका इन्जिनियर विष्णु श्रेष्ठले उक्त पहिरोको अनुगमन गरेको बताए । उनले यसले राजमार्ग जोखिममा पारेपनि समाधानको उपाय निकाल्न अप्ठ्यारो देखेर अल्मलमा परेको पनि बताए ।

0 comments

तपाईंको प्रतिकृया