Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भैरहवामा दशैं बजार संचालन गरिने

भैरहवा । नेपालीहरुको महान पर्व विजया दशमी र दीपावलीलाई लक्षित गरी उद्योग ब्यापार संगठन रुपन्देहीले भैरहवाका विभिन्न स्थानमा दशैं छुट सस्तो बजार सञ्चालन गर्ने भएको छ ।
चाडपर्वका समयमा सीमावर्ती बजार सुनौलीमा दैनिक उपभोग्य वस्तुहरु किनमेल गर्न जाने उपभोक्तालाई स्थानीय बजारमै किनमेल गराउने उद्देश्यसहित संगठनले भैरहवाका मुख्य बजारका ६ वटा पसलमा सस्तो दशैं बजार संचालन गर्न लागेको  संगठनका अध्यक्ष खिमबहादुर खत्रीले जानकारी दिए । घटस्थापनाका दिनदेखि मैत्रीपथका आनन्द किराना, सिद्धेश्वरी किराना, अशोक जनरल स्टोर र अमन किराना, आवारोडको कालिका स्टोर र लुम्बिनीरोडको नव अन्नपुर्ण स्टोरमा सस्तो बजार  संचालन हुने छन् । यी पसलहरुमा दैनिक उपभोग्य खाद्यान्न,तेलहन आदि वस्तुहरु बजार मुल्य भन्दा छुटमा विक्रि गर्ने संगठनले वयवसथा गरेको जनाएको छ ।
सस्तो बजार संचालनका लागि संगठनका उपाध्यक्ष गिरिषचन्द्र त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । उपभोक्तालाई स्थानीय बजारमा खरिद गर्न प्रेरित गराउने र स्वदेशी वस्तुको उपभोगलाई बढावा दिन आव्हान गर्दै  संगठनले ३ हजार स्टीकर तथा  भारतीय बजारमा भन्दा नेपाली बजारमा सस्तो पाइने ५६ वस्तुको मुल्यसूचि सहितको होर्डिङबोर्ड बनाएर सार्वजनिक स्थान र पसलहरुमा टांस्न थालेको  संगठनका महासचिव नारायण भण्डारीले जानकारी दिए । 
यस्तै संगठनले दीपावलीको अवसरमा भैरहवाको मिलनचोकमा  ‘प्लस जोन’ सांस्कृतिक कार्यक्रम गर्नका लागि ८ सदस्यीय समिति गठन र यही १० गते दशैं,तिहार र इदको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । यसैबीच संगठनले उद्योगी ब्यापारीको माग अनुसार घरबहाल कर घरधनीले नै तिर्ने कानुनी व्यवस्थाका लागि पहल गर्न आग्रह गर्दै आन्तरिक राजस्व कार्यालय भेरहवाका प्रमुख जनकराज शर्मासंग छलफल गरेको छ । छलफलमा कार्यालय प्रमुख शर्माले दशैंलगत्तै यससम्बन्धमा संगठनको सहकार्यमा सरोकारवालासंग सचेतना कार्यक्रम गर्ने प्रतिवद्धता जनाएको महासचिव भण्डारीले बताए ।

0 comments

तपाईंको प्रतिकृया