Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अवैधरुपमा गिट्टी बालुवा निकासी

भुवन कार्की
बुटवल । रुपन्देहीसंग सीमा जोडिएको पाल्पाको सत्यवती गाविसमा दिनदहाडै प्रतिबन्धित गिट्टी बालुवा निकासी भइरहेको पाईएको छ ।
सत्यवती गाविस–९ इटियास्थित कञ्चन खोलाबाट महालक्ष्मी निर्माण सेवाले गिट्टी, बालुवा र ढुंगा  निकासी भइरहेको छ । उक्त स्थानमा दुईवटा ट्याक्टर लगाएर गिट्टी बालुवा निकासी गरिएको छ । ट्याक्टर चालक युवाका अनुसार उक्त बालुवा सालझण्डी– ढोरपाटन सडक निर्माणमा काम गरिरहेको महालक्ष्मी निर्माण सेवाका ठेकेदारले निकासी गरिरहेका छन् । नरेन्द्र मानन्धर नामका ठेकेदारले केही दिन अघिदेखि पानी बगिरहेको खोलाबाट नदिजन्य सामाग्री निवालेर सडक निर्माण कार्य गरिरहेको स्थानीयले बताएका छन् । सरकारले अहिले देशभर नदीजन्य सामग्री निकासी बन्द गरेको छ ।
स्थानीय वडा संयोजक भिमबहादुर पेंग्नी मगरले आफूहरुसंग कुनै सल्लाहबिना ठेकेदारले एकलौटी ढंगले अवैधरुपमा निकासीको काम गरिरहेको प्रतिक्रिया दिए । स्थानीय केही अगुवाहरुकै मिलेमतोमा ठेकेदारले गिट्टी,ढुंगा बालुवा निकासी गरिरहेको बताइन्छ ।
ठेकेदार नरेन्द्र मानन्धरले निर्माण सामग्री अपुग भएकाले स्थानीयको सहमतिमै नदीबाट गिट्टी बालुवा निकालिएको प्रतिक्रिया दिए । जिल्ला विकास समिति पाल्पाका प्रमुख स्थानीय विकास अधिकारी दीर्घ पोखरेलले गिट्टी बालुवा निकासी भएको भए तत्काल कारवाही गर्ने बताए । उनले भने– ‘त्यस खोलाको यसअघिको टेण्डर समेत रद्द हुने तयारीमा छ, चुरे क्षेत्र भएकोले यहाँबाट गिट्टीवालुवा निकासी गर्न दिनु उपयुक्त हुँदैन ।’ अहिले देशभरी नै नदिजन्य पदार्थको निकासी बन्द गरिएकाले यो चोरी निकासी भएको भए तत्काल प्रहरी परिचालन गरेर कारवाही थालिने पोखरलेले प्रतिक्रिया दिए ।
उक्त क्षेत्रबाट हिउँद र वर्षायाममा समेत नदीजन्य पदार्थको चोरी निकासी हुँने गरेको बताइन्छ । चोरी निकासीमा केही स्थानीय अगुवाहरुकै संलग्नता रहेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीय ब्यक्तिले भने । उनका अनुसार काममा लाइएका ती ट्याक्टर पनि स्थानीयकै हुन् ।

0 comments

तपाईंको प्रतिकृया