बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु, औद्योगिक क्षेत्र पांच वर्षमै लोडसेडिङमुक्त : उर्जामन्त्री
बुटवल । रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघको आयोजनामा सोमबारदेखि बुटवलमा तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ ।
महोत्सवको सोमबार एक औपचारिक समारोहका बीच उर्जामन्त्री राधा ज्ञवालीले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उर्जामन्त्री ज्ञवालीले मुलुकलाई २ वर्षभित्र र औद्योगिक क्षेत्रलाई ५ वर्षभित्र लोडसेडिङमुक्त गर्ने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको बताइन् ।
‘अहिलेको मन्त्रिपरिषदले ३ वर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाउने प्रतिवद्धता जनाएको थियो,एक वर्ष बितिसक्यो अबको २ वर्षभित्र देश लोडेसडिङमुक्त हुन्छ’–मन्त्री ज्ञवालीले भनिन्–‘औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त बनाउन ४–५ वर्ष लाग्छ ।’
औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त बनाउन सकेमात्र औद्योगिक उत्पादन बढ्ने स्पष्ट पार्दै मन्त्री ज्ञवालीले सरकार २० हजार मेगावाट विद्युत उत्पादन गरी १० हजार विदेश निर्यात गर्ने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिइन् ।
तनहुं जलविद्युत आयोजनाको परामर्शदाता चयनमा एशियाली विकास बैंकले त्रुटिपुर्ण र राष्ट्रको हित विपरित हुने निर्णय गरेकाले उक्त परामर्शदाता खारेज गरिएको जिकिर गर्दै उनले २ महिनाभित्र नयां परामर्शदाता नियुक्त गरिने दावी गरिन् । ‘हामी स्वतन्त्र र सार्वभौम राष्ट्र भएको नाताले जुनसुकै निर्णय पनि आफ्नो राष्ट्रको हितमा मात्र गर्नुपर्छं,विदेशीको दवावमा राष्ट्रलाई अहित हुने काम गर्न सक्दैनौं’ – मन्त्री ज्ञवालीले प्रष्ट पारिन् ।
सो अवसरमा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले राजनीतिक दलहरुले औद्योगिक विकासलाई प्राथमिकतामा राख्न नसक्दा मुलुक परनिर्भर बन्दै गएको र ब्यापार घाटा बढ्दै गएको बताए ।
राजनीतिक दलहरु र तिनका भातृ संगठनहरुलाई चन्दा मागेर खाने संस्कारको अन्त्य गर्न आग्रह गर्दै शर्माले राजनीतिक हस्तक्षेप नहुने र उद्योगमैत्री नीति बन्ने हो भने निजी क्षेत्रले औद्योगिक विकासमा फड्को मार्ने बताए ।
प्रदर्शनी आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले लोडसेडिङ, औद्योगिक क्षेत्र विस्तार हुन नसक्नु, औद्योगिक नीति बनेपनि ऐन आउन नसक्नु, राजनीतिक स्थिरता कायम हुन नसक्नु जस्ता समस्याले उद्योगी–व्यवसायी मारमा परेको गुनासो गरे । उनले बुटवल मण्डपमा नगरपालिकाले गुरुयोजना नबनाउंदा वर्षेनी आयोजना हुने प्रदर्शनीका लागि अस्थायी संरचना निर्माणमा लाखौं खेर गैरहेकाले स्थायी संरचना निर्माणमा गम्भीर बन्न आग्रह गरे ।
सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी, स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल,बुटवल नगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्का, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह,रुपन्देही ब्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल,पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी,पुर्व सांसद सुर्यप्रसाद प्रधान, एमाले केन्द्रीय सदस्य लिला गिरी, महासचिव विष्णुकुमार श्रेष्ठ,एमाओवादी केन्द्रीय सदस्य वामदेव क्षेत्री,एमाले जिल्ला अधयक्ष भोजप्रसाद श्रेष्ठ,नेपाली कांग्रेस रुपन्देही उपसभापति मनोरमा शेरचन,नेकपा माओवादी रुपन्देहीका इन्चार्ज बसन्त श्रेष्ठ,संघका भुतपुर्व अध्यक्ष नारायणभक्त प्रधान, लगायतले औद्योगिक विकासलाई प्राथमिकता दिन राज्यसंग आग्रह गरे । उद्योग संघका उपाध्यक्ष दिनेशराज रेग्मीको स्वागत, महासचिव विष्णुकुमार श्रेष्ठको सञ्चालन र उपाध्यक्ष गणेशप्रसाद अधिकारीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । ‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ बुटवल–१२ स्थित बुटवल मण्डपमा शुरु भएको प्रदर्शनी पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

0 comments
तपाईंको प्रतिकृया