सरकारी केही कार्यालयमा विहान ६ बजेदेखि सेवा
काठमाडौं । सरकारी कार्यालय मंगलबारबाट बिहान ६ बजेदेखि नै खुल्न थालेका छन् । सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा काठमाडौं उपत्यकासहित मोरङ, रुपन्देही, बाँके र कैलालीका बढी भिड भाड हुने कार्यालयमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टे सेवा सुरु गरेको हो ।
बिहान १० बजेदेखि ५ बजेसम्म सेवा सञ्चालन हुदै आएकोमा सेवाग्राहीको चापलाई मध्यनजर गरी सरकारले विहानी शिफ्टको सेवा सुचारु गरेको हो। पाँचै जिल्लामा मंगलबार विहान ६ बजेदेखि जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ ।
काठमाडौं उपत्यकामा राहदानी विभाग, नेपाल टेलिकमको छ महसुल काउन्टर, खानेपानी संस्थानका २० वटै महसुल काउन्टर खुलेका छन् । यातायात कार्यालयले पनि १२ घन्टा सेवा सुरु गरेको छ ।
मंगलबार बिहान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौं जिल्ला प्रशासन पुगेर बिहानी सेवाको उदघाटन गरेका छन् । सामान्य प्रशासन मन्त्री पण्डितले वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयको राहदानी शाखा उदघाटन गरे । बिहानैदेखि सरकारी कार्यालय उदघाटनका लागि सामान्य प्रशासन मन्त्रालयका सचिव डइन्द्रप्रसाद उपाध्याय भैरहवा पुगेका थिए ।
रुपन्देहीमा एक वर्षीया नाबालिकालाई राहदानी दिएर १२ घण्टे सरकारी सेवा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सामान्य प्रशासन मन्त्रालयका सचिव उपाध्याय उपाध्यायले पडसरी९१ की एक वर्षीया नाबालिका आयुमी ढकाललाई बिहान ६ बजे राहदानी दिएर सेवा शुभारम्भ गरेका हुन् । विहानको सेवामा ४ पुरुष र ३ महिला गरी ७ जनाले राहदानी लिएको राहदानी फाँटका प्रमुख मिननाथ शर्माले जानकारी दिए ।


0 comments
तपाईंको प्रतिकृया