प्रचण्ड, बैद्य र तुलाधरको मोर्चाबन्दी, माघ ६ गते बन्द आह्वान
काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा, बैद्य माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले मोर्चाबन्दी गरेर संयुक्तरुपमा आन्दोलन गर्ने भएका छन् ।
साथै बैद्य माओवादीले माघ ३ गते र ३० दलले माघ ५ गते आहृवान गरेको नेपाल बन्द फिर्ता लिएका छन् । संयुक्त रुपमा ६ गते बन्द आह्वान गरेका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पदमरत्न तुलाधरसहितका नेताबीच बुधबार भएको छलफलमा बन्द एकै दिन बनाउने सहमति भएको एक नेताले बताए । यसअघि बैद्य माओवादीले माघ ३ गते र ३० दलीय मोर्चाले माघ ५ गते नेपाल बन्द आह्वान गरेका थिए । ३० दलीय मोर्चाको मंगलबार बेलुका बसेको बैठकमा पनि बन्द र हड्तालले जनतामा मर्का परेको र सत्तापक्षले यसमा खेल्न खोजेको विश्लेषण गरिएको थियो ।
३० दल, वैद्य माओवादी र आदिवासी आन्दोलन समितिबीच संयुक्त आन्दोलन गर्न सहमति भएको छ ।
यसअघि आन्दोलनकारी पक्षहरुबीच भएको छलफलमा एमाओवादी अध्यक्ष प्रचण्डले संयुक्त राष्ट्रिय आन्दोलन गर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि आन्दोलनकारीहरुको एउटै हेडक्वार्टर बनाउने र युवाहरुको प्रतिरोध दस्ता बनाउने प्रचण्डको प्रस्ताव थियो ।

0 comments
तपाईंको प्रतिकृया