प्रदर्शनीमा १५ करोडको कारोबार
बुटवल । रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा बुटवलमा आयोजित तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव मंगलबार समापन गरिएको छ ।
‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि बुटवल १२ रामनगरस्थित बुटवल मण्डपमा सञ्चालित प्रदर्शनी साढे ५ लाख दर्शकले अवलोकन गरेका र १५ करोड रुपैयां बराबरको आर्थिक कारोबार भएको रुपन्देही उद्योग संघले जनाएको छ ।
प्रदर्शनीको प्रतिवेदन प्रस्तुत गर्दै संघका महासचिव विष्णुकुमार श्रेष्ठले प्रतिकुल मौसमका वावजुद प्रदर्शनी साढे ५ लाख दर्शकले अवलोकन गरेका र १५ करोड रुपैयां बराबरको आर्थिक कारोबार भएको जानकारी दिदै प्रदर्शनीको प्रवेश टिकटबाट प्रति टिकट रु. ४ गौतमबुद्ध सामुदायिक मिर्गौला उपचार केन्द्र बुटवलका लागि र प्रति टिकट ५० पैसा लायन्स शबदाह गृह निर्माणका लागि छुट्याइएको बताए ।
समापन समारोहमा उत्कृष्ट उद्योग,प्रविधि र महिला उद्यमीहरुलाई पुरस्कृत गरिएको छ । सहभागी उद्योगमध्ये ग्रिन वेल्थ इण्डष्ट्रिज, ललितपुर प्रथम, कपिलवस्तु ग्लास फाइबर इण्डष्ट्रिज बुटवल दोस्रो, एल्जी ब्युटी सोपको उत्पादक ओम शोप इण्डष्ट्रिज सिक्टहन रुपन्देही तेस्रो भए ।
उत्कृष्ट उद्योग र उद्योगीहरुलाई सभासद एवं कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा,रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया लगायतले पुस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै सभासद थापाले संविधान निर्माणपछि देशमा आर्थिक समृद्धि र औद्योगिक विकासको ढोका खुल्ने बताए । उनले नेपालमा प्राकृतिक स्रोत सम्पदा र युवा जनशक्ति, चीन र भारत जस्ता दुई ठुला छिमेकी देशहरु बजारको रुपमा रहेकाले लगानीकर्ताका लागि नेपालमा ठूलो अवसर रहेको प्रष्ट पारे । नेपालमा नीजि क्षेत्र निकै सामथ्र्यवान रहेकाले नै देशका विभिन्न स्थानमा आफ्नै पहलमा औद्योगिक प्रदर्शनी र ब्यापार मेलाहरु आयोजना हुने गरेको र तिनले उद्यमशिलताको विकासमा टेवा पुराएको बताए । नेता थापाले राज्यले नीजि क्षेत्रको साथ लिएर अघि बढेमा मात्रै औद्योगिक र आर्थिक विकासले गति लिनसक्ने उनको भनाई थियो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले माघ ८ गते संविधान आउन नसक्ने स्पष्ट पार्दै तर सहमतिको प्रयासलाई जारी राखेर अर्को मितिमा संविधान आउने ग्यारेन्टी गरेर नयां मिति घोषणा गर्नुपर्ने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले रुपन्देहीमा औद्योगिक विकासको प्रचुर सम्भावना रहेपनि औद्योगिक क्षेत्र विस्तार हुन नसक्दा लगानी अवरुद्ध हुन पुगेकाले यथाशीघ्र औद्योगिक क्षेत्रको विस्तार र नयाँ औद्योगिक क्षेत्र निर्माणमा राज्यको ध्यान जानुपर्ने आग्रह गरे ।
उनले बुटवल मण्डपको गुरुयोजना र स्थायी संरचना बन्न नसक्दा औद्योगिक प्रदर्शनी संचालन गर्न निकै कठिनाई बेहोर्नुपरेको भन्दै अस्थायी संरचना निर्माणमा वर्षेनी लाखौं रुपैयां खेर जाने गरेकाले गुरुयोजना बनाउन र स्थायी प्रदर्शनीस्थल निर्माणका लागि सहयोग गर्न सम्बन्धित निकायसंग आग्रह गरे ।

0 comments
तपाईंको प्रतिकृया